नेपाली फुटबलर सजन डंगोलद्वारा फुटबल जगलिङमा दुई दुर्लभ विश्व रेकर्ड कायम
बर्मिङघम, युके — युनाइटेड किंगडम (यूके) मा रहँदै आएका नेपाली युवा फुटबलर सजन डंगोलले फुटबल जगलिङ विधामा दुई वटा दुर्लभ विश्व रेकर्ड कायम गर्दै ऐतिहासिक सफलता हासिल गर्नुभएको छ। उहाँको नवीनतम उपलब्धि आधिकारिक रूपमा ‘गिनिज वर्ल्ड रेकर्ड्स’ मा समेत दर्ता भएको छ। डंगोलले पहिलो विश्व रेकर्ड सन् २०२४ फेब्रुअरी १६ का दिन बेलायतको बर्मिङघममा एक घण्टाभित्र २,२१७ पटक फुटबल जगल गरेर बनाएका थिए भने दोस्रो विश्व रेकर्ड सन् २०२६ मे १५ का दिन मैदानमा बल खसाली नखसालीकन दुवै खुट्टाको वैकल्पिक प्रयोगमार्फत निरन्तर ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म फुटबल जगल गरेर कायम गर्नुभएको हो।
बर्मिङघममा हालै आयोजित ‘फुटबलको मैदानदेखि सगरमाथाको शिखरसम्म’ शीर्षकको विशेष पत्रकार तथा अन्तरक्रिया कार्यक्रममा डंगोलले आफ्ना साङ्गीतिक एवं खेलजीवनका सङ्घर्ष र सफलताका कथाहरू साझा गर्नुभयो। काठमाडौँको टोखामा जन्मिएर एन्फाको एन्डर-१४ राष्ट्रिय लिगदेखि ब्रिगेड ब्वाइज, मनाङ मर्स्याङ्दी, फ्रेन्ड्स क्लब र बाँसबारी जस्ता ‘ए’ डिभिजन क्लबहरूसम्म खेल्नुभएका डंगोलले स्वास्थ्य समस्या र चोटपटकका कारण राष्ट्रिय टोलीबाट व्यावसायिक खेल्ने अवसर गुमाए पनि यूके पुगेर आफ्ना लक्ष्यहरूलाई नयाँ उचाइ दिनुभएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्