अनुमति नलिई विदेशी पर्यटकलाई डोल्पोबुद्ध लैजान खोज्ने ट्रेकिङ कम्पनीलाई ५० हजार जरिवाना
काठमाडौं । अनुमति नलिई विदेशी पर्यटकलाई डोल्पोबुद्धतर्फ लैजान खोज्ने ट्रेकिङ कम्पनीलाई अध्यागमन विभागले कार्वाही गरेको छ । पदयात्रासम्बन्धी प्रचलित कानुन उल्लंघन गरेको भन्दै गरिमा भोयाज ट्राभल्स टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको प्रवक्ता गीता घिमिरेले जानकारी दिइन् । विभागले अध्यागमन ऐन, २०४९ को दफा १०(६) बमोजिम कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको प्रवक्ता घिमिरेले जानकारी दिइन् ।
बेल्जियमका दुई जना नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको घटनामा विभागले कम्पनीलाई जरिवाना गरेको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र तथा घटनासम्बन्धी विवरण र अध्ययनका आधारमा विभागले कम्पनीले पदयात्रासम्बन्धी प्रचलित कानुन पालना नगरेको निष्कर्ष निकालेको विभागले विज्ञप्तीमार्फत जनाएको छ ।
विभागका अनुसार विदेशी पर्यटकलाई पदयात्राका लागि निषेधित क्षेत्रमा लैजाँदा आवश्यक अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, सम्बन्धित अनुमति नलिई पर्यटकलाई लैजान खोजिएको र स्थानीय प्रशासनको निर्देशनसमेत अवज्ञा भएको विषय जिल्ला प्रशासन कार्यालय डोल्पाको पत्रमा उल्लेख छ ।
यस घटनामा पदयात्रा गराउने कार्यमा संलग्न गाइडको व्यावसायिक आचरण तथा पदयात्रा इजाजतपत्रसम्बन्धी विषयमा समेत थप छानबिन गर्न विभागले पर्यटन विभाग र बागमती प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, हेटौँडालाई लेखी पठाएको छ ।
अध्यागमन विभागले सबै ट्रेकिङ एजेन्सी, पदयात्रा गाइड तथा पर्यटन व्यवसायीलाई विदेशी पर्यटकलाई पदयात्रामा लैजानुअघि आवश्यक अनुमति लिन र तोकिएका सर्त तथा कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।
अनुमतिप्राप्त पदमार्गभन्दा बाहिर पर्यटक लैजाने, अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गराउने वा अनुमति तथा कानुनी सर्त उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई सम्बन्धित अधिकारप्राप्त निकायको निर्देशनअनुसार कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्