इतिहासकै लामो जलवायु सम्मेलन कोप–३१ बिनामुख्य सम्झौता टुङ्गियो
अन्ताल्या (टर्की) — टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) जीवाश्म इन्धन (फसिल फ्युल) कटौती र जलवायु अनुकूलन वित्तका विषयमा गहिरो मतभेद उत्पन्न भएपछि कुनै नयाँ मुख्य राजनीतिक सम्झौता बिना नै असफल भएको छ। शुक्रबार सम्पन्न हुनुपर्ने वार्ता सहमति खोज्ने प्रयासमा आइतबार अबेरसम्म लम्बिएपछि यो इतिहासकै सबैभन्दा लामो जलवायु सम्मेलन बनेको थियो। सन् २००९ को कोपेनहेगन सम्मेलनपछि कोपको मुख्य राजनीतिक सम्झौता यसरी विफल भएको यो पहिलोपटक हो।
सहमति जुटाउन आइतबार बिहान प्रस्तुत गरिएको अन्तिम मस्यौदामा विश्वव्यापी तापमान वृद्धिको मुख्य कारक मानिने 'जीवाश्म इन्धन' शब्द कतै उल्लेख नगरिएपछि युरोपेली संघ (ईयू), पनामा र मार्सल आइल्यान्ड्सलगायत प्रशान्त महासागरीय टापु राष्ट्रहरूले कडा आपत्ति जनाउँदै अस्वीकार गरेका थिए। अघिल्लो मस्यौदामा छ पटक उल्लेख भएको उक्त शब्द साउदी अरब र रुसजस्ता तेल उत्पादक राष्ट्रहरूको दबाबमा हटाइएको थियो। साथै, गत वर्ष ब्राजिलको कोप–३० मा जलवायु अनुकूलन वित्त तेब्बर पार्ने सहमति भए पनि यसपटकको मस्यौदामा धनी राष्ट्रहरूको ठोस आर्थिक प्रतिबद्धता र मापदण्ड नसमेटिएपछि गरिब राष्ट्रहरूले समेत तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्