Logo

'जति प्रहार भए पनि ढल्दिनँ, म अझै बलियो छु' : ओली

"नजिकै आएर 'कमरेड' भन्दै ग्याम्म छुरी हान्नेहरू पनि देखियो। तर भीष्म पितामह शरशय्यामा ढल्दा धेरै वृद्ध भइसकेका थिए, म त्यति बुढो भएको छैन। जति प्रहार गरे पनि म ढल्दिनँ," ओलीले भने।

ललित सन्देश २०८३ आश्विन २५, १:१७ PM
'जति प्रहार भए पनि ढल्दिनँ, म अझै बलियो छु' : ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जतिसुकै राजनीतिक प्रहार र चौतर्फी घेराबन्दी भए पनि त्यसलाई सहने क्षमता आफूमा रहेको बताएका छन्। आफू अझै पनि बलियो स्थितिमा रहेको दाबी गर्दै उनले विरोधीको प्रहारबाट नढल्ने स्पष्ट पारे।

एमालेको सम्पर्क विशेष संगठन कमिटीद्वारा आइतबार काठमाडौँमा आयोजित 'मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला'लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभारतको 'भीष्म पितामह'को प्रसङ्ग स्मरण गरे। अर्जुनले प्रहार गरेका तीव्र बाणहरूले पनि भीष्मलाई डगाउन नसकेको उदाहरण दिँदै ओलीले आफूमाथि पनि अनेकौँ राजनीतिक आक्रमण भइरहेको बताए।

"नजिकै आएर 'कमरेड' भन्दै ग्याम्म छुरी हान्नेहरू पनि देखियो। तर भीष्म पितामह शरशय्यामा ढल्दा धेरै वृद्ध भइसकेका थिए, म त्यति बुढो भएको छैन। जति प्रहार गरे पनि म ढल्दिनँ," ओलीले भने।

साढे पाँच दशकको राजनीतिक यात्रा र दृढता

आफ्नो साढे पाँच दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै ओलीले ५७ वर्ष अघिदेखि नै देश र जनताका लागि निरन्तर आन्दोलनमा होमिएको सुनाए। पञ्चायत फाल्ने, राजतन्त्र ढाल्ने र समाजवादसम्म पुग्ने उद्देश्य बोकेर हिँडेको भन्दै उनले आफ्नै जीवनकालमा पञ्चायत र राजतन्त्र ढलेको उल्लेख गरे।

राज्यसत्ताबाट विगतमा पनि झुटा मुद्दा लगाउने र जेल हाल्ने काम भएको भन्दै उनले थपे, "राज्यले अहिले मात्र होइन, त्यतिबेला पनि मलाई ज्यानमारा भनेको थियो।"

"बाँचिन्जेल कसैका अगाडि झुकिँदैन"

अध्यक्ष ओलीले आफूलाई मृत्युको कुनै डर नभएको र व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताका लागि मात्र काम गरेको दाबी गरे।

"कुन दिन मरिन्छ भन्ने थाहा छैन, तर नमरुन्जेल देशका लागि लडिरहनेछु। बाँचिन्जेल बैरीका सामु कहिल्यै झुकिँदैन," उनले दृढता व्यक्त गरे।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्