समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
समितिले बचतकर्ताको रकम फिर्ता भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ।
समितिले सूचना जारी गर्दै अनलाइन प्रणालीमार्फत पेस गरिएको मागदाबीको रकम हाल राष्ट्रिय भुक्तानी गेटवे (नेसनल पेमेन्ट गेटवे) मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी हुने व्यवस्था गरिएको जनाएको छ।
समितिका अनुसार बचतकर्ताले आफ्नो मागदाबीमा उल्लेख भएको विवरण परिवर्तन वा अद्यावधिक गर्न सक्नेछन्। यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गरी उक्त नम्बरमा प्राप्त हुने ओटीपीका आधारमा विवरण संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।
मागदाबीमा नाम गलत भएको, मोबाइल नम्बर अपुष्ट रहेको, परिचय तथा बचत पुष्टि हुने प्रमाण संकलन नभएको वा एउटै बचतकर्तासम्बन्धी एकभन्दा बढी मागदाबी पेस भएको अवस्थामा सम्बन्धित बचतकर्ताले आवश्यक प्रमाणसहित विवरण अद्यावधिक गर्नुपर्नेछ।
त्यसैगरी, एउटै मोबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी मागदाबी पेस गरिएको अवस्थामा प्रत्येक मागदाबीका लागि फरक९फरक मोबाइल नम्बर अद्यावधिक गर्नुपर्ने भएमा आवश्यक विवरणसहित समितिको इमेलमार्फत निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
समितिले उक्त विवरण अद्यावधिक तथा मोबाइल नम्बर संशोधनसम्बन्धी व्यवस्था पहिलो पटकका लागि २०८३ साल कात्तिक मसान्तसम्म लागू हुने जनाएको छ। सम्बन्धित सबै बचतकर्तालाई तोकिएको समयभित्र आवश्यक विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्