पारिजातका शब्दमा रङ भर्दै १६ कलाकार, ‘क्यानभासमा पारिजात’ प्रदर्शनी सुरु
काठमाडौं। साहित्यकार पारिजातका शब्द, विचार र भावनाले अब क्यानभासमा नयाँ जीवन पाएका छन्। उनका कविता, कथा, उपन्यास र आत्मसंस्मरणबाट प्रेरित चित्रकलालाई समेटेर काठमाडौंको म्हैपीस्थित पारिजात स्मृति केन्द्रमा ‘क्यानभासमा पारिजात’ शीर्षकको एकहप्ते चित्रकला प्रदर्शनी सुरु भएको छ।
नेपाली साहित्यमा विशिष्ट पहिचान बनाएकी पारिजातको सिर्जनात्मक व्यक्तित्वलाई चित्रकलामार्फत पुनः व्याख्या गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा १६ जना कलाकारका कलाकृति राखिएका छन्। असोज २३ गते शुक्रबार सुरु भएको प्रदर्शनीमा साहित्यका शब्दलाई रङ, रेखा र दृश्यभाषामार्फत प्रस्तुत गरिएको छ। प्रदर्शनीको अवधि आवश्यकताअनुसार थप्न सकिने आयोजकले जनाएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनी उद्घाटन गर्दै एक स्रष्टाको साहित्यिक कृतिमाथि अर्को स्रष्टाले चित्र सिर्जना गर्नु नेपाली कला क्षेत्रमा नयाँ सिर्जनात्मक अभ्यास भएको बताए। उनका अनुसार यसले साहित्यकारको विचार र कलाकारको दृष्टिकोणबीचको सम्बन्ध तथा भिन्नता बुझ्ने अवसर दिन्छ।
प्रदर्शनीमा सहभागी कलाकार सौरगङ्गा दर्शनधारीले साहित्यिक कृतिको भाव र गहिराइलाई चित्रमा उतार्नु चुनौतीपूर्ण भए पनि यसले कृतिलाई फरक कोणबाट बुझ्ने अवसर दिएको बताइन्। रङ र रेखामार्फत पारिजातका कृतिलाई न्याय गर्ने प्रयास भएको उनको भनाइ थियो।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव देवेन्द्र थुम्केलीले साहित्यिक रचनामाथि चित्र सिर्जना गर्दा मूल कृतिमा नयाँ आयाम थपिने बताए। शब्दलाई दृश्यकलामा रूपान्तरण गर्ने यस्तो अभ्यासले सामाजिक रूपान्तरण, चेतना र जागरणमा योगदान पुर्याउन सक्ने उनको धारणा थियो।
पारिजात स्मृति केन्द्रका संस्थापक अध्यक्ष तथा संरक्षक सुकन्या वाइबाले पारिजातका कृतिमाथि चित्र सिर्जना गर्नु उनको साहित्यिक योगदानप्रतिको सम्मान भएको बताइन्। केन्द्रका अध्यक्ष इन्दिरा दलीले कलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास भएको धारणा व्यक्त गरिन्। कार्यक्रममा डा. महेश मास्के र डा. अमृता शर्माले पनि पारिजातको साहित्यिक योगदान, समता, न्याय र प्रगतिशील विचारको महत्त्वबारे चर्चा गरेका थिए।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, देवेन्द्र थुम्केली, एससी सुमन, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, वासु क्षितिज, केशवराज खनाल, डिबी भण्डारी, लीलाधर केसी, मोहन शिवाकोटी, किशोर रानाभाट, रसिकराज, मनरा प्रजापति र शोभा ढकालका चित्र समावेश छन्। आधुनिक समसामयिक, मिथिला, पर्वते तथा थाङ्का शैलीका कलाकृतिले प्रदर्शनीलाई विविधतापूर्ण बनाएका छन्।
‘क्यानभासमा पारिजात’ केवल चित्रकला प्रदर्शनी मात्र होइन, साहित्य र दृश्यकलाबीच संवाद स्थापित गर्ने सिर्जनात्मक प्रयास पनि हो। साहित्यिक कृतिलाई शब्दमा पढ्ने पाठकले अब त्यही भावलाई रङ र रेखामा हेर्न सक्नेछन्। यसले पारिजातको साहित्यिक विरासतलाई नयाँ पुस्तासँग जोड्नुका साथै नेपाली साहित्य र कलाबीच सहकार्यका थप सम्भावना उजागर गरेको छ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्