स्याङ्जामा नेपथ्यको पहिलो ऐतिहासिक प्रस्तुति
स्याङ्जा — चर्चित नेपाली लोक–रक ब्यान्ड नेपथ्यले स्याङ्जामा पहिलोपटक भव्य सांगीतिक प्रस्तुति दिएको छ। पुतलीबजार नगरपालिका–१ स्थित आँधीखोला किनारको मालेबगर मैदानमा आयोजित लाइभ कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले करिब दुई घण्टासम्म आफ्ना एक दर्जनभन्दा बढी कालजयी र लोकप्रिय गीतहरू प्रस्तुत गरी दर्शकलाई भरपूर मनोरञ्जन दिनुभएको हो। साँझ ६ बजेदेखि सुरु भएको कन्सर्टमा स्याङ्जासहित छिमेकी जिल्ला कास्की, पाल्पा र पर्वतबाट समेत संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
रातो टिसर्ट र जिन्सको ज्याकेटमा सांगीतिक समूहसहित मञ्चमा उक्लिनुभएका गुरुङले नेपथ्यको पहिलो गीत ‘भेडाको ऊनजस्तो’ बाट प्रस्तुतिको सुरुवात गर्नुभएको थियो। त्यसपछि उहाँले क्रमशः ‘छेक्यो छेक्यो देउराली’, ‘उडायो रेलैले’, ‘जोमसोमे बजारमा’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’, ‘म नाचेँ छमछमी’, ‘रेशम रेशम’ र ‘तालको पानी माछीले खाने’ जस्ता गीतहरू सुनाउँदा दर्शकदीर्घामा उत्साह छाएको थियो। कार्यक्रमको अन्त्यमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘रातो र चन्द्र सूर्य’ प्रस्तुत गर्दै गुरुङले दर्शकसँग बिदा लिनुभएको थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्