‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवनमा नयाँ ट्विस्ट
काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको प्रतीक्षित नेपाली सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र विपीन कार्कीको भूमिकालाई थप प्रस्ट पारिएको छ। बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल सञ्चालन गरेर नयाँ व्यवसाय सुरु गरेको दृश्यबाट कथा अघि बढ्छ। त्यसपछि सृजना गुरुङले निर्वाह गरेको नयाँ मैयासँग काजीको विवाह भएको प्रसङ्गले कथामा नयाँ मोड ल्याएको छ।
ट्रेलरमा काजीको समूह र गाउँमा प्रवेश गरेको विपीन कार्कीको रैथाने गुन्डा समूहबीचको टकराव, एक्सन र हास्यलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा देखिने दृश्यले उनीहरूको सम्बन्धबारे थप जिज्ञासा पैदा गर्छ।
यसअघि सार्वजनिक टिजरले काजी र मैयाको जीवनमा आउने नयाँ मोड, बीकेको प्रविधिसँगको रमाइलो सम्बन्ध तथा विपीन कार्कीको प्रवेशलाई लिएर दर्शकमाझ उत्सुकता बढाएको थियो। टिजरमा दर्शकले खोजी गरेका मिरुना मगर पनि ट्रेलरमा देखिएकी छन्।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सृजना गुरुङ, मिरुना मगरलगायत कलाकारको अभिनय छ। अघिल्ला चार शृङ्खलाले बक्स अफिसमा सफलता पाएको ‘कबड्डी’ को नयाँ शृङ्खलालाई यस वर्षको प्रतीक्षित सिनेमाका रूपमा हेरिएको छ।
कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने सिनेमामा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्