साढे तीन दशकको यात्रा, कीर्तिपुरमा फेरि गुञ्जियो नेपथ्य
पहिलो कन्सर्ट गरेको ठाउँमै आठ हजार दर्शकमाझ प्रस्तुति, गीतसँगै भाषा, संस्कृति र सामाजिक उत्तरदायित्वको सन्देश
कीर्तिपुर । कुनै समय त्रिभुवन विश्वविद्यालयको अडिटोरियममा दुई गितारको सहारामा सीमित दर्शकमाझ प्रस्तुति दिएको नेपथ्य ब्यान्ड साढे तीन दशकपछि त्यही कीर्तिपुरमा हजारौँ दर्शक नचाउँदै थियो। शनिबार ल्याब स्कुलको मैदानमा आयोजित कन्सर्टमा करिब आठ हजार दर्शक सहभागी भए। टिकट बिक्री भइसकेकाले कन्सर्ट हेर्न आएका कतिपय युवा निराश हुँदै फर्किए।
नेपथ्यका लागि कीर्तिपुर केवल अर्को कन्सर्टस्थल थिएन, ब्यान्डको सांगीतिक यात्राको सुरुआती बिन्दु पनि थियो। त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागका विद्यार्थीले पहिलो प्रस्तुतिका लागि निम्त्याएपछि ब्यान्डले यहीँ आफ्नो यात्रा अघि बढाएको थियो। दशकौँपछि त्यही ठाउँमा फर्किएको नेपथ्यको प्रस्तुतिले ब्यान्डसँग हुर्किएका फरक पुस्तालाई एउटै मैदानमा जोड्यो।
मुख्य गायक अमृत गुरुङले प्रस्तुति क्रममा विश्वविद्यालयमा अध्ययन गर्दाको समय सम्झिए। त्यतिबेला कीर्तिपुरका फाँट खाली रहने र भाषा तथा संस्कृतिबारे बहस हुने गरेको उनले बताए।
कर्णाली क्षेत्रबाट संकलित गीत ‘कर्नालीका छाइला’ प्रस्तुत गर्नुअघि अमृतले नेपाली भाषाको ऐतिहासिक उद्गमस्थलका रूपमा चिनिने सिँजा उपत्यकाको चर्चा गरे। ‘भाषा रहे भाका रहन्छ,’ भन्दै उनले नेपाली भाषाको संरक्षणमा सबैलाई जुट्न आग्रह गरे। यसरी कन्सर्ट मनोरञ्जनमा मात्र सीमित रहेन, भाषा र सांस्कृतिक पहिचानको सन्देश दिने अवसरसमेत बन्यो।
प्रस्तुतिका क्रममा अमृतले मुलुकले निरन्तर प्राकृतिक विपत्ति झेलिरहेको प्रसंग निकाल्दै प्रभावित समुदाय र सरकारलाई सहयोग गर्न दर्शकसँग आग्रह गरे। अन्तिममा राष्ट्रिय झन्डाको महिमा समेटिएको ‘रातो र चन्द्रसुर्जे’ गीत प्रस्तुत गरेर उनले कार्यक्रम टुंग्याए।
कन्सर्टमा युवा मात्र नभई विभिन्न उमेर समूहका दर्शक सहभागी थिए। त्रिभुवन विश्वविद्यालयका कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख प्रेम खनालले ‘घर हाम्रो पोखरा’ गीतमा नाच्दै नेपथ्यको सांगीतिक यात्राको प्रशंसा गरे। उनका अनुसार गीतको पृष्ठभूमि र ब्यान्डको इतिहास बुझेर कन्सर्टमा सहभागी हुँदा अनुभव अझ अर्थपूर्ण हुन्छ।
दर्शक प्रविन रानाभाटले सामाजिक सञ्जालमा नेपथ्यको प्रस्तुति पटकपटक हेर्दा पनि हरेकपटक नयाँ ऊर्जा प्राप्त हुने अनुभव साझा गरेका छन्। अर्की दर्शक रेश्मा शाक्यले कन्सर्टलाई आफ्नो सपना साकार भएको क्षणका रूपमा वर्णन गरेकी छन्।
अमृतलाई ध्रुव लामाले ड्रमसेट, सुविन शाक्यले बेस गितार, नीरज गुरुङले गितार, दिनेशराज रेग्मीले किबोर्ड र सुन्दर महर्जनले मादलमा साथ दिएका थिए।
कीर्तिपुरको प्रस्तुतिपछि नेपथ्यले दसैँलगत्तै भारतको सिक्किममा अक्टोबर ३१ मा प्रस्तुति दिनेछ। त्यसपछि नोभेम्बर ४ मा इटहरी र नोभेम्बर ७ मा झापाको चारआलीमा कार्यक्रम तय गरिएको छ। तिहारपछि देशका अन्य सहर हुँदै ब्यान्ड अस्ट्रेलिया जानेछ। एडिलेडमा डिसेम्बर ७ देखि सुरु हुने अस्ट्रेलिया भ्रमणको अन्तिम कार्यक्रम डिसेम्बर २७ मा पर्थमा हुनेछ।
नेपथ्यको कीर्तिपुर कन्सर्टले एउटा सांगीतिक समूहको लोकप्रियता मात्र देखाएन, दशकौँदेखि गीतमार्फत फरक पुस्तालाई जोड्दै आएको यसको यात्रालाई पनि पुनः स्मरण गरायो।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्