Logo

दयाहाङको ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा

ललित सन्देश २०८३ आश्विन ३१, ७:४७ AM
दयाहाङको ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा

काठमाडौं । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले शुक्रबार फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र दिएको हो।

निर्देशक गुरुङका अनुसार चलचित्र जाँच समितिका पदाधिकारीले फिल्ममा अघिल्ला शृङ्खलामा जस्तै सामाजिक विषयवस्तुलाई हास्यरसमा प्रस्तुत गरिएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्म यस वर्षको दसैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

फिल्मको सार्वजनिक पोस्टर, टिजर, ट्रेलर र ‘थाक खोला’ गीतले दर्शकमाझ उत्सुकता बढाएको निर्माण पक्षको दाबी छ। ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल सञ्चालन गरेको कथा देखाइएको छ। काजीको वैवाहिक जीवनमा आउने उतारचढाव र विपिन कार्कीको ग्याङसँगको टकरावलाई पनि हास्य तथा एक्सन शैलीमा प्रस्तुत गरिएको छ।

टिजरमा कम देखिएकी मिरुना मगरको गीत र ट्रेलरमा उपस्थिति देखेपछि दर्शकले खुसी व्यक्त गरेका छन्। त्यस्तै, विपिन कार्कीको ग्याङस्टार अवतारले पनि दर्शकको ध्यान खिचेको छ।

‘कबड्डी’ शृङ्खलाका अघिल्ला चार फिल्मले व्यावसायिक सफलता हासिल गरेकाले पाँचौँ भागप्रति दर्शकको अपेक्षा उच्च छ। नयाँ कथावस्तु र पात्रहरूको भूमिकाले यसपटक कस्तो प्रभाव पार्छ भन्ने चासोसमेत बढेको छ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले र अरुणा कार्कीलगायत कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्