सिन्धुलीमा टाटासुमो सुनकोसीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटासुमो सिन्धुलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते भएका चार जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
सशस्त्र प्रहरीका अनुसार को १ ज २९७६ नम्बरको टाटासुमो आइतबार बिहान २:४० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।
घाइते चार जनालाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचारका लागि पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
खोजी कार्यमा खुर्कोटस्थित सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन बेसबाट नौ जना गोताखोरसहित १० जना तथा ओखलढुंगाको हर्कपुरस्थित अस्थायी मनसुन बेसबाट थप १० जना सशस्त्र प्रहरी खटिएका छन्।
सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजय श्रेष्ठका अनुसार मृतक र बेपत्ता यात्रुको पहिचान खुल्न सकेको छैन। हालसम्म घाइते चार जनाको मात्र नाम र ठेगाना खुलेको उनले बताए।
घाइते हुनेमा ओखलढुंगाका करिब २९ वर्षीय चालक आशिष विष्ट छन्। उनी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ। त्यस्तै, खोटाङको दिक्तेल नगरपालिका–३ की करिब ३८ वर्षीया सम्झना राई गम्भीर घाइते भएकी छन्। उनकी १२ वर्षीया छोरी शिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैको अवस्था बोल्न सक्ने रहेको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। बेपत्ता यात्रुको खोजी तथा मृतकको पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणी लेख्नुहोस्