Logo

स्थानीय तह निर्वाचनको तयारी : देशभरका मतदान स्थल पुनरावलोकन गरिँदै

ललित सन्देश २०८३ मंसिर १०, ७:४६ AM
स्थानीय तह निर्वाचनको तयारी : देशभरका मतदान स्थल पुनरावलोकन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदान स्थल पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गर्न आयोगले सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई परिपत्र जारी गर्दै मतदान स्थल पुनरावलोकन कार्यमा आवश्यक जानकारी उपलब्ध गराउन र सहजीकरण गर्न आग्रह गरेको हो ।

निर्वाचन आयोगअन्तर्गतको ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समिति’ को बैठकले देशभरका मतदान स्थल पुनरावलोकन गर्ने निर्णय गरेको थियो । निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा रहेको समितिमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलगायत सम्बन्धित निकायका सचिव सदस्य छन् ।

‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ तथा ‘कार्यक्रम कार्यान्वयन योजना, २०८३’ अनुसार सबै जिल्लाका मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमार्फत पुनरावलोकनको काम अघि बढाउने निर्णय भएको आयोगले जनाएको छ ।

यस कार्यमा आवश्यक सहयोग र सहजीकरणका लागि आयोगले मंसिर ७ गते नै गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो । गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय र भूमि व्यवस्था मन्त्रालयमार्फत सबै स्थानीय तहमा समन्वयका लागि पत्र पठाउन आयोगले अनुरोध गरेको थियो ।

आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका उपसचिव युवराज गुरागाईंले हस्ताक्षर गरेको पत्र प्राप्त भएपछि मन्त्रालयले स्थानीय तहसँग समन्वय अघि बढाएको हो । सोही पत्र संलग्न गरी मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत सुदर्शन दाहालले बुधबार सबै स्थानीय तहलाई परिपत्र गरेका हुन् ।

मतदान स्थल पुनरावलोकनबाट विद्यमान मतदान स्थलको उपयुक्तता, मतदातालाई मतदान गर्न पुग्नुपर्ने सहजता तथा आवश्यकताअनुसार स्थलको निरन्तरता वा परिवर्तनबारे जिल्लास्तरमा सिफारिस प्रक्रिया अघि बढ्नेछ ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्