Logo

पीएचपी सुरक्षा कमजोरी समाधान, अधिकांश सरकारी वेबसाइट पुनः सञ्चालनमा

ललित सन्देश २०८३ कार्तिक ९, १०:२७ AM
पीएचपी सुरक्षा कमजोरी समाधान, अधिकांश सरकारी वेबसाइट पुनः सञ्चालनमा
  1. काठमाडौँ — पीएचपी प्रोग्रामिङ भाषामा देखिएको गम्भीर सुरक्षा कमजोरी समाधान गरेपछि नेपालका अधिकांश सरकारी वेबसाइट पुनः सञ्चालनमा आएका छन्। सम्भावित साइबर आक्रमण र अनधिकृत पहुँचको जोखिमलाई ध्यानमा राख्दै सरकारले सावधानीस्वरूप सरकारी तथा बैंकिङ वेबसाइटहरू अस्थायी रूपमा बन्द गरेको थियो।सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टर (एसडीओसी) का अनुसार आवश्यक सुरक्षा अद्यावधिक तथा परीक्षण पूरा भएपछि अधिकांश सरकारी पोर्टल सञ्चालनमा ल्याइएको हो। यद्यपि, चिकित्सा शिक्षा आयोगको वेबसाइट र नागरिक एपलगायत केही सेवा अझै सञ्चालनमा आउन सकेका छैनन्।एसडीओसीका प्रमुख कार्यकारी अधिकृत किरण तिमिल्सिनाले सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जीआईडब्लुएमएस) अन्तर्गत सञ्चालित हजारौँ वेबसाइटमा केन्द्रीय रूपमा सुरक्षा प्याच लागू गरिएको जानकारी दिए। आफ्नै सेवा प्रदायक वा प्राविधिक टोलीमार्फत मर्मत तथा पुनःस्थापना गर्नुपर्ने वेबसाइट पनि क्रमशः सञ्चालनमा आइरहेको उनले बताए।सेवा प्रदायकमार्फत व्यवस्थापन गरिएका केही वेबसाइट अझै पहुँचबाहिर रहेकाले सम्बन्धित पक्षसँग सम्पर्क भइरहेको तिमिल्सिनाको भनाइ छ।त्यसैगरी, अधिकांश सरकारी निकायका वेबसाइट, सर्भर र प्रणाली केन्द्रीय रूपमा होस्ट तथा भण्डारण गर्ने एकीकृत डेटा व्यवस्थापन केन्द्रका सूचना प्रविधि निर्देशक शिवाजी कुमार गुप्ता रौनियारले पनि पीएचपीसँग सम्बन्धित सुरक्षा समस्या समाधान भइसकेको बताए। उनका अनुसार सम्बन्धित निकायको अनुरोधका आधारमा बाँकी वेबसाइटहरू क्रमशः पुनः सञ्चालनमा ल्याउने काम भइरहेको छ।‘पीएचपीटुसशेल’ (PHP2Shell) नामक सुरक्षा कमजोरी गत बुधबार सार्वजनिक भएपछि सरकारी प्रणालीमा अनधिकृत पहुँच र सम्भावित साइबर आक्रमणको जोखिमबारे चिन्ता बढेको थियो। त्यसपछि जोखिम न्यूनीकरण गर्न सरकारले सरकारी तथा बैंकिङ वेबसाइटहरू अस्थायी रूपमा बन्द गरी सुरक्षा अद्यावधिक र परीक्षणको प्रक्रिया अघि बढाएको थियो।















DH

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्