दूरसञ्चार प्राधिकरणको फोर जी घनत्व ९२ प्रतिशतभन्दा बढी
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पेस गरेको छ। प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले मन्त्रीसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदन ग्रहण गर्दै मन्त्री डा. तिमिल्सिनाले नागरिकलाई थप गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा प्रदान गर्न निर्देशन दिएका छन्।
प्राधिकरणले प्रस्तुत गरेको प्रतिवेदनअनुसार जनसङ्ख्याका आधारमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ प्रतिशत र ब्रोडब्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत पुगेको छ। यसमा फिक्स्ड ब्रोडव्याण्ड ५३.५५%, थ्रि जी २.५७%, र फोर जीको घनत्व ९२.५२% (कुल मोबाइल ब्रोडब्याण्ड ९५.०९%) रहेको छ। भ्वाइस सेवाको बजार हिस्सा ७३.७९% र इन्टरनेट नेटवर्क सेवा प्रदायकको २६.२१% पुगेको छ भने भ्वाइस राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५०.८१% र एनसेल आजियटा लिमिटेडको ४९.१९% हिस्सा देखिएको छ।
यस आवमा इन्टरनेट सेवाको १ र आधारभूत दूरसञ्चार सेवाको १ नयाँ अनुमतिपत्र जारी गरिएको छ। साथै, ३३ वटा सेवा प्रदायकको नवीकरण तथा उजुरीका आधारमा ५ वटाको अनुगमन गरी कारबाही प्रक्रिया अघाइएको छ। उपकरण आयातका लागि रु ४ अर्ब ८६ करोड २९ लाख र ब्याण्डविथ भुक्तानीका लागि रु ४ अर्ब १४ करोड बराबरको विदेशी मुद्रा सिफारिस गरिएको छ। यसैगरी, इन्टरनेट सेवाका ३३९ र भ्वाइस सेवाका ९६ वटा गुनासा आएका छन्। मध्यपहाडी लोकमार्गसहितका राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने क्रममा यस आवमा २२०.९९ किमि सहित हालसम्म कुल २,२४८.४४ किमि फाइबर बिछ्याइएको छ। रोयल्टीबापत रु ३ अर्ब १७ करोड ६१ लाख, ग्रामीण दूरसञ्चार विकास कोषबापत रु १ अर्ब ६८ करोड पाँच लाख र फ्रिक्वेन्सी शुल्कबापत रु ३ अर्ब ९१ करोड ८२ लाख नेपाल सरकारको खातामा जम्मा भएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणी लेख्नुहोस्