Logo

नेपाल र इस्टोनियाबिच डिजिटल रूपान्तरण र विद्युतीय शासनमा सहकार्य विस्तार गर्ने सहमति

ललित सन्देश २०८३ कार्तिक २६, १०:४८ AM
नेपाल र इस्टोनियाबिच डिजिटल रूपान्तरण र विद्युतीय शासनमा सहकार्य विस्तार गर्ने सहमति

काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबिच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को ‘विश्व दूरसञ्चार नीति मञ्च २०२६’ मा सहभागी हुने क्रममा कतारको दोहामा दुवै मन्त्रीबिच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रूपान्तरण, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे विस्तृत विचार–विमर्श भएको थियो। सो अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताउनुभयो। सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा नागरिक केन्द्रित बनाउन इस्टोनियाले विकास गरेको प्रणाली नेपालका लागि अत्यन्त उपयोगी हुन सक्ने उहाँको भनाइ थियो।

डिजिटल शासन प्रणालीको सफल अभ्यास गर्ने अग्रणी मुलुक इस्टोनियाले डिजिटल पहिचान, सुरक्षित तथ्याङ्क आदानप्रदान, विद्युतीय हस्ताक्षर तथा अनलाइन सार्वजनिक सेवा प्रणाली विकास गरेको छ। सरकारी कामकाजलाई कागजरहित बनाउँदै नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने इस्टोनियाको अनुभवबाट नेपालले लाभ लिन सक्ने मन्त्री तिमिल्सिनाले उल्लेख गर्नुभयो। उहाँले सरकारी सेवा प्रणालीको अन्तरआबद्धता र साइबर सुरक्षाका क्षेत्रमा इस्टोनियाको प्राविधिक ज्ञान आदानप्रदान भएमा नेपालको सार्वजनिक सेवा प्रवाह थप एकीकृत र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्