पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटर खोज्दै पर्यटन बोर्ड, नोभेम्बर ५ सम्म आवेदन दिन सकिने
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई प्रवर्द्धन अभियानमा सहभागी गराउने भएको छ। यसका लागि बोर्डले इच्छुक सिर्जनाकर्मीबाट आवेदन माग गरेको छ।
नेपालका हिमाली गन्तव्य, प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई डिजिटल सामग्रीमार्फत विश्वसामु पुर्याउने उद्देश्यले बोर्डले यो पहल अघि बढाएको हो।
बोर्डका अनुसार अभियानमा सहभागी हुने सिर्जनाकर्मीले नेपालको पर्यटकीय विशेषता र अनुभवलाई भिडियो, तस्बिर तथा अन्य सिर्जनात्मक सामग्रीमार्फत प्रस्तुत गर्नेछन्। यसबाट सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग गरी नेपालको पर्यटन प्रवर्द्धनलाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ।
विशेषगरी हिमाली क्षेत्रको प्राकृतिक आकर्षण, स्थानीय जीवनशैली, सांस्कृतिक विविधता, मौलिक परम्परा तथा कम प्रचारमा रहेका पर्यटकीय गन्तव्यलाई सामग्रीको विषय बनाइने लक्ष्य छ। नयाँ पुस्ताका डिजिटल सिर्जनाकर्मीको सहभागिताले नेपालको पर्यटन पहिचान अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन सहयोग पुग्ने बोर्डको विश्वास छ।
अभियानमा सहभागी हुन इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण र सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित आवेदन दिनुपर्नेछ।
बोर्डले आवेदनका लागि सन् २०२६ नोभेम्बर ५ सम्मको समयसीमा तोकेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्