सर्वोच्च अदालतको शुक्रबार पूर्ण बैठक आह्वान
काठमाडौँ — प्रहरी हिरासतमा रहेका इनम सापकोटाको फोन अनुसन्धानका क्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालसँगको सञ्चार सम्पर्कसम्बन्धी विवरण सार्वजनिक भएपछि न्याय क्षेत्र तरङ्गित बनेको छ। यसै विषयमा उत्पन्न समसामयिक परिस्थिति र न्यायिक प्रशासनिक सुधारका विषयमा छलफल गर्न शुक्रबार बिहान सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाइएको छ।
बिहीबार बिहान नियमित गोलाप्रथाद्वारा पेसी तोक्ने क्रममा यसबारे औपचारिक छलफल नभए पनि दिउँसोको घटनाक्रमपछि प्रधानन्यायाधीश शर्माले वरिष्ठ न्यायाधीशहरू र न्यायिक प्रशासनका अधिकारीहरूसँग परामर्श गर्नुभएको थियो। त्यसपछि नै शुक्रबारका लागि "समसामयिक विषयमा छलफल" गर्ने कार्यसूचीसहित पूर्ण बैठकको सूचना जारी गरिएको हो। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणका क्रममा बिदामा रहेकाले उनको अनुपस्थितिमा नै यो बैठक बस्नेछ।
बिहीबारको पेसी सूचीपछि न्यायाधीश फुयालले सञ्चारकर्मीहरूसँग भेट गरी सापकोटासँगको संवाद र आदेशहरूबारे आफ्नो पक्ष राख्नुभएको थियो। पछि साँझ एक औपचारिक विज्ञप्ति जारी गर्दै फुयालले न्यायिक निष्पक्षतामा सम्झौता नगरेको र जुनसुकै छानबिनमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो। यस्तै, प्रधानन्यायाधीश शर्माले पनि व्यक्तिगत हस्ताक्षरसहितको विज्ञप्ति मार्फत सापकोटासँग कुनै सम्पर्क नरहेको खण्डन गरिसक्नुभएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्