अलकत्राको विकल्पमा कंक्रिट सडकको बहस
काठमाडौँ — सरकारले सडक निर्माणमा सिमेन्टको प्रयोग अनिवार्य गर्ने नीति अघि सारे पनि सबै ठाउँमा कंक्रिट सडक समान रूपमा उपयुक्त हुन्छ भन्ने छैन। सडक निर्माण गर्दा सम्बन्धित क्षेत्रको भूगोल, माटोको अवस्था, पानीको निकास, यातायातको चाप र लागतलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ। विशेषगरी सहरी क्षेत्रमा जहाँ खानेपानीको पाइप मर्मत गर्ने, ढल बिछ्याउने वा बिजुली/सञ्चारका तार भूमिगत गर्न सडक बारम्बार खन्नुपर्ने हुन्छ, त्यहाँ कंक्रिट सडक भत्काउन र पुनः निर्माण गर्न कालोपत्रेको तुलनामा धेरै बढी समय, श्रम र खर्च लाग्ने गर्दछ।
त्यस्तै, पहाडी भेगमा घुम्तीहरूमा कंक्रिट सडकको सतह र जडान मिलाउने विषय पनि उत्तिकै संवेदनशील छ। कंक्रिटको सतह खस्रो हुने भएकाले सवारीसाधनको टायरले पकड राम्रो पाएतापनि पानी पर्दा चिप्लिने जोखिम घटे पनि यदि सतह आवश्यकताभन्दा बढी असमान भएमा सवारी सञ्चालन असहज हुन सक्छ। यसले गर्दा सडक विभागले कंक्रिट सडकका लागि स्पष्ट प्राविधिक मापदण्ड, डिजाइन र गुणस्तर मापनका मार्गदर्शनहरू तयार गर्नुपर्ने आवश्यकता देखिन्छ।
सुरुको निर्माण खर्च मात्र नभई सडकको सम्पूर्ण जीवनचक्र र मर्मतसम्भार खर्चको फेरबहममा आधारित भएर नीति कार्यान्वयन गरिनुपर्छ। सरकारको यो नयाँ प्रयासले सिमेन्ट खपत बढाउनु मात्र नभई वास्तवमै दीर्घकालीन टिकाउ, सुरक्षित र गुणस्तरीय सडक निर्माणमार्फत नागरिकको सार्वजनिक कोषको बचत गर्न सक्नु नै यस नीतिको वास्तविक सफलताको कसि बन्नेछ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्