मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा प्रदेश प्रमुख खापुङलाई बिदाइ
विराटनगर — प्रदेश प्रमुख परशुराम खापुङको कार्यकाल सकिनै लाग्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार उहाँसँग औपचारिक बिदाइ भेट गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा भएको उक्त सौहार्दपूर्ण भेटघाटका क्रममा मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म प्रदेशको अभिभावकका रूपमा पुर्याउनुभएको उत्कृष्ट सेवा, मार्गदर्शन र सहयोगका लागि सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले सङ्घीयता कार्यान्वयनको सुरुवाती तथा चुनौतीपूर्ण चरणमा प्रदेश प्रमुख खापुङले देखाउनुभएको परिपक्वता र संवैधानिक दायित्वको सफल निर्वाहको प्रशंसा गर्नुभयो। सो अवसरमा मुख्यमन्त्रीले खापुङलाई मायाको चिनो प्रदान गर्दै उहाँको आगामी व्यक्तिगत तथा सामाजिक जीवनको सफलता र दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो। प्रदेश प्रमुख खापुङले पनि आफ्नो कार्यकालमा प्रदेश सरकार, जनप्रतिनिधि र जनताबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्