गृहमन्त्रीबारे भ्रामक भिडियो पोस्ट गरेको आरोपमा गोविन्द अधिकारी कास्कीबाट पक्राउ
काठमाडौँ/पोखरा — गृहमन्त्रीको कार्यक्रमका विषयमा सामाजिक सञ्जालमार्फत असत्य तथा भ्रामक सूचना र भिडियो सम्प्रेषण गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कास्की नेता गोविन्द अधिकारी पक्राउ परेका छन्। सामाजिक सञ्जालको दुरुपयोग गरी आम नागरिकमा भ्रम सिर्जना गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पोखराबाट नियन्त्रणमा लिइएको हो।
अधिकारीविरुद्ध गोरखामा विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएकाले कास्कीबाट पक्राउ गरी थप कारबाहीका लागि गोरखा लगिएको छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमा राजनीतिक व्यक्तित्व र राज्यका जिम्मेवार पदाधिकारीका विषयमा नियोजित रूपमा भ्रामक सामाग्री फैलाउने कार्य कानुन विपरीत भएकाले अनुसन्धान सुरु गरिएको हो। कानुनी प्रक्रिया बमोजिम निष्पक्ष छानबिन गरी तथ्यका आधारमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्