Logo

दुर्गेशलाई उछिन्दै कस्तुप बने सर्वाधिक रोयल्टी बुझ्ने स्रष्टा

ललित सन्देश २०८३ कार्तिक १८, ९:२८ AM
दुर्गेशलाई उछिन्दै कस्तुप बने सर्वाधिक रोयल्टी बुझ्ने स्रष्टा

काठमाडौँ । लोकप्रिय गायक तथा सङ्गीतकार दुर्गेश थापालाई पछि पार्दै वरिष्ठ गीतकार तथा सङ्गीतकार कस्तुप पन्त सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन् । सङ्गीत रोयल्टी सङ्कलन समाजले बुधबार वितरण गरेको रोयल्टीमा पन्त सबैभन्दा अगाडि देखिएका हुन् ।

शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर समाजले एनसेलको पीआरबीटी (पर्सनलाइज्ड रिङ ब्याक टोन) र टिकटकबाट सङ्कलित रोयल्टी स्रष्टाहरूलाई वितरण गरेको हो । यस क्रममा पन्तले चार लाख रुपैयाँ प्राप्त गरेका छन् ।

समाजले टिकटकबाट सन् २०२६ असारसम्म र एनसेलबाट सन् २०२५ नोभेम्बरसम्म सङ्कलन भएको रोयल्टी वितरण गरेको जनाएको छ । रोयल्टी प्राप्त गर्नेमा दोस्रो स्थानमा सङ्गीतकार राजनराज शिवाकोटी र तेस्रो स्थानमा गायक दुर्गेश थापा रहेका छन् ।

डिजिटल प्लेटफर्ममा गीतसङ्गीतको प्रयोग र लोकप्रियताका आधारमा स्रष्टाले रोयल्टी प्राप्त गर्ने भएकाले यसपटकको वितरणले बजारमा गीतसङ्गीतको उपभोग र स्रष्टाको आम्दानीको अवस्थासमेत देखाएको छ ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भूपेन्द्र रायमाझी, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयकी रजिस्ट्रार सुशीला कार्की, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा र प्रतिष्ठानका पूर्वउपकुलपति शम्भु राईलगायतले स्रष्टाहरूलाई रोयल्टी प्रदान गरेका थिए ।

समाजले उक्त अवसरमा ६ सयभन्दा बढी गीतकार तथा सङ्गीतकारलाई रोयल्टी वितरण गरेको जनाएको छ । कार्यक्रममा समाजका सदस्य तथा वरिष्ठ गीतकार प्रमोद ढुङ्गाना र महासचिव चन्द्र शर्मालगायतले रोयल्टी सङ्कलन तथा वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्