नेपाल प्रहरीको २३औँ महानिरीक्षकमा डा. मनोज केसी नियुक्त
काठमाडौँ — नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान प्रहरी प्रमुख दानबहादुर कार्कीलाई उक्त पदबाट हटाउँदै केसीलाई संगठनको सर्वोच्च नेतृत्व सुम्पिने निर्णय गरेको हो। प्रहरी प्रमुखबाट हटाइएका कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी प्रदान गरेको छ।
२०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका नवनियुक्त महानिरीक्षक केसी र निवर्तमान महानिरीक्षक कार्की एकै ब्याचका अधिकारी हुन्। २०८२ वैशाखमा एआइजीमा बढुवा हुनुभएका केसी यसअघि पनि आइजिपीको दौडमा रहनुभएको थियो। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालिरहेकै अवस्थामा उहाँलाई सरकारले आइजिपीमा चयन गरेको हो।
व्यावसायिक प्रहरी सेवाका साथै डा. केसी प्राज्ञिक रूपमा पनि उत्तिकै अब्बल मानिनुहुन्छ। उहाँले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ भने त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन अन्तर्गत कोसोभो र हाइटीमा खटिनुभएका केसी नेपाली, अङ्ग्रेजी, फ्रान्सेली र स्पेनी भाषामा निपुण हुनुहुन्छ। करिब २८ वर्ष लामो सेवा अवधि पार गर्नुभएका डा. केसीको नियुक्तिसँगै प्रहरी संगठनभित्र व्यावसायिकता र विधिको शासन थप सुदृढ हुने अपेक्षा गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्