२ लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरियो: अनुदान र दिवा खाजामा दुरुपयोगको आशङ्का
काठमाडौँ — विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इ-एमआईएस) मा ठूलो सङ्ख्यामा विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढाएको छ। विवरणमा देखिएको गम्भीर त्रुटि र सम्भावित अनियमितताबारे सूक्ष्म अध्ययन गर्न मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।
प्रारम्भिक तथा अनौपचारिक अध्ययनअनुसार डिजिटल प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन्। यसरी एउटै विद्यार्थीको नाम र तथ्याङ्क दोहोरिँदा राज्यबाट विद्यालयहरूलाई उपलब्ध गराइने अनुदान, छात्रवृत्ति तथा दिवा खाजाजस्ता राहत र सेवा-सुविधाहरूमा व्यापक दुरुपयोग भएको हुन सक्ने आशङ्का गरिएको छ।
गठित छानबिन समितिले प्रणालीमा देखिएको यो समस्या प्राविधिक कमजोरीका कारण भएको हो वा कुनै समूहले नियतवश गरेको बदमासी हो भन्ने विषयमा विस्तृत अध्ययन गर्नेछ। समितिले प्रतिवेदन बुझाएपछि सोही आधारमा दोषी ठहरिने व्यक्ति तथा निकायमाथि कडा कारबाहीको सिफारिस गरिने मन्त्रालयले जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्