पार्टी १८ करोडमा बेच्नेले काँग्रेस र देश जोगाउन सक्दैन : देउवा
‘मैले जीवनमा धेरै कुरा पाइसकेको छु। अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ,
काठमाडाैं । नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले १८ करोडमा पार्टी बेचेको भन्दै काँग्रेस र देश नै जोगाउन नसकिने अवस्थामा पुराएको बताएका छन् । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउँदै त्यसबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै पैसाको प्रभावमा पार्टीको आधिकारिकता निर्धारण गरिएको आरोपसमेत लगाएका छन्।
शनिबार काठमाडौँमा आफ्नो पक्षको नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको १५औँ अधिवेशन उद्घाटन गर्दै देउवाले निर्वाचन आयुक्तहरूलाई ज्यान मार्ने धम्की दिएर अर्को पक्षको पक्षमा निर्णय गराइएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे।
उनले पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको आरोपलाई सामान्य रूपमा लिन नमिल्ने भन्दै सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष छानबिन आवश्यक रहेको बताए।
‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्। यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ,’ उनले भने।
देउवाले एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै पैसाको बलमा पार्टीको निर्णय प्रभावित पार्ने प्रयास भएको टिप्पणी गरे। पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई आर्थिक प्रभावसँग साट्न नसकिने उनको भनाइ थियो।
उनले पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै १८ करोड रुपैयाँमा पार्टी बेच्ने प्रवृत्तिले कांग्रेसको संरक्षण र संवर्द्धन गर्न नसक्ने टिप्पणी गरे।
‘पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ,’ देउवाले भने।
पार्टीभित्रको विवाद र आधिकारिकतासम्बन्धी कानुनी प्रक्रियाबीच उनले आफूलाई व्यक्तिगत रूपमा अब कुनै पद वा उपलब्धिको चाहना नरहेको पनि बताए। राजनीतिक जीवनमा आफूले धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अब पार्टी र मुलुकका लागि योगदान गर्ने समय आएको बताए।
‘मैले जीवनमा धेरै कुरा पाइसकेको छु। अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ,’ उनले भने, ‘यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो।’
देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वाससमेत व्यक्त गरे। आफूहरू कानुनी प्रक्रियाबाटै अघि बढ्ने बताउँदै उनले कांग्रेसको परम्परागत चुनाव चिह्न रुख र पार्टीको पहिचान कायम रहनेमा आशावादी रहेको बताए।
‘मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौँ,’ उनले भने, ‘अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ।’
देउवाको अभिव्यक्तिले कांग्रेसभित्रको आधिकारिकता विवाद अब निर्वाचन आयोगको निर्णयमा सीमित नरही आर्थिक चलखेल, निर्णय प्रक्रियाको निष्पक्षता र पार्टीको चुनाव चिह्नको स्वामित्वसम्म पुगेको देखाएको छ। तथापि, उनले उठाएका आर्थिक लेनदेन र दबाबसम्बन्धी आरोप स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्