कोप–३१ मा सहभागी हुन खनाल सहित सरकारी टाेली टर्की प्रस्थान
काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका समस्या, हिमनदी पग्लिने क्रम र जलवायु वित्तको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्की प्रस्थान गरेका छन्।
टर्कीको अन्टाल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्।
सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, नोभेम्बर ११ र १२ मा आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा समेत उनले सहभागिता जनाउनेछन्।
सम्मेलनका क्रममा नेपालले हिमाली पारिस्थितिक प्रणाली, हिमनदी तथा समग्र क्रायोस्फियरमा जलवायु परिवर्तनले पारेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसै सन्दर्भमा नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने उच्चस्तरीय कार्यक्रममा मन्त्री खनाल सहभागी हुनेछन्।
‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उक्त कार्यक्रममा हिमाली क्षेत्रको जोखिम, जलवायु उत्थानशीलता, साझा जिम्मेवारी र दिगो वित्तीय व्यवस्थापनबारे छलफल हुनेछ।
जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको असरबाट नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुक बढी प्रभावित भइरहेका छन्। हिमनदी पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने, पानीका स्रोत प्रभावित हुने र प्राकृतिक विपद्को जोखिम बढ्दै जाने अवस्थालाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने नेपालको प्राथमिकता रहने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागिता जनाउनुका साथै अन्य देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। ती भेटवार्तामा जलवायु सहकार्य, अन्तर्राष्ट्रिय साझेदारी र वित्तीय सहयोगका विषयमा छलफल हुनेछन्।
नेपाली प्रतिनिधिमण्डलमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य र कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित सरकारी अधिकारीहरू सहभागी छन्। प्रतिनिधिमण्डलमा नौ जना सरकारी अधिकारीसमेत रहेको जनाइएको छ।
परराष्ट्रमन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्