तिहारका दुई दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन नहुने
काठमाडौं । तिहार पर्वका कारण यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य स्थगित हुने भएको छ।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार तिहारका मुख्य दुई दिन फोहोर संकलन तथा व्यवस्थापनको काम रोकिनेछ। उपत्यकाको अन्तिम फोहोर विसर्जनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीसमेत बिदामा रहने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन सम्भव नहुने उनले बताइन्।
महानगरपालिकाले कात्तिक २६ गतेदेखि फोहोर व्यवस्थापनको काम पुनः नियमित हुने जनाएको छ। व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने भएकाले यस अवधिमा सडक, चोक तथा सार्वजनिकस्थलमा जथाभावी फोहोर नफाल्न विभाग प्रमुख राईले उपत्यकावासीलाई आग्रह गरेकी छन्।
उनले फोहोरलाई घरमै सुरक्षित रूपमा राखेर व्यवस्थापन कार्य नियमित भएपछि मात्र बाहिर निकाल्न पनि अनुरोध गरेकी छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्