Logo

मुखबाट कागको आवाज निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

ललित सन्देश २०८३ कार्तिक २१, १:३१ PM
मुखबाट कागको आवाज निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

काठमाडौँ । काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौँमा २३औँ काग सम्मेलन आयोजना गरेका छन्। आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर सयौँ काग जम्मा पार्ने अनौठो कलाका लागि परिचित दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन गरेका हुन्।

राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा दुलालले कागको आवाज निकाल्न थालेपछि आकाशमा क्रमशः सयौँ काग जम्मा भएका थिए। उनको आवाज सुनेर वरपरका क्षेत्रबाट कागहरू उडेर कार्यक्रमस्थलमा आइपुगेका थिए।

करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता रहेको बताउने दुलालले विगत २३ वर्षदेखि निरन्तर काग तिहारका दिन यस्तो सम्मेलन आयोजना गर्दै आएका छन्। कागको आवाज निकालेर चराहरूलाई एकै ठाउँमा भेला पार्ने उनको कला हरेक वर्ष तिहारको आकर्षण बन्ने गरेको छ।

राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका दुलालले सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य बनाउने योजना सुनाए। त्यसका लागि ठूलो स्टेज निर्माण गरी कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक ढङ्गले सञ्चालन गर्ने उनको तयारी छ।

काग सम्मेलनलाई मनोरञ्जनमा मात्र सीमित नराखी उनले यसपटक समसामयिक राजनीतिक विषयमा पनि आफ्नो धारणा राखे। नयाँ पुस्ताका नेताहरूबाट देशले विकासको गति समात्नेमा आफू आशावादी रहेको उनले बताए। नयाँ नेतृत्वले मुलुकलाई छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनको सन्देश थियो।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकार तथा संगीतकर्मीहरूको सहभागिता थियो।

हिन्दू धर्म र संस्कृतिमा तिहारको पहिलो दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने परम्परा छ। कागलाई खाना खुवाएर पूजा गरिने यस दिनलाई कलाकार दुलालले आफ्नो विशिष्ट प्रतिभा प्रदर्शन गर्ने अवसरका रूपमा समेत स्थापित गरेका छन्।

दुई दशकभन्दा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको काग सम्मेलनले तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई थप रोचक बनाउनुका साथै दुलालको अनौठो प्रतिभालाई पनि सार्वजनिक रूपमा चिनाउँदै आएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्