बडिमालिका प्रवर्द्धन गर्न तीन हजार मिटर उचाइमा भेडाको ऊनका पहिरनको फेसन शो
कैलाली । समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको बाजुराको पोरखे लेकस्थित लामासिममा भेडाको ऊनबाट तयार पारिएका पहिरनको फेसन शो आयोजना गरिएको छ। बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै बाजुरामा उत्पादित भेडाको ऊनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले दुर्गम हिमाली क्षेत्रमा अनौठो शैलीमा फेसन शो गरिएको हो।
‘थ्रेड्स अफ द हिमालयः फार्म टु फेसन’ नाम दिइएको उक्त कार्यक्रम थ्रेड्स अफ द हिमालय फाउन्डेसन र कासा ब्रान्डको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित कलाकार र मोडलहरूले बाजुरामा उत्पादित भेडाको ऊनबाट तयार पारिएका विभिन्न डिजाइनका पहिरन प्रदर्शन गरेका थिए।
फेसन शोमा अभिनेत्री श्वेता खड्का, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, मोडल नीति शाह, भावना पन्त, आयुष्मान देशराज जोशीलगायत तीन दर्जनभन्दा बढी कलाकार तथा मोडल सहभागी थिए। कार्यक्रमका लागि कलाकार, मोडल, आयोजक र प्राविधिकसहित ५५ जनाको टोली बाजुरा पुगेको थियो।
सामान्यतया सहरका होटल, सभागृह वा आकर्षक र्याम्पमा आयोजना हुने फेसन शोभन्दा फरक यस कार्यक्रमले हिमाली भूगोल, स्थानीय उत्पादन र पर्यटनलाई एउटै मञ्चमा जोडेको छ। हिमाली वातावरणमै स्थानीय कच्चा पदार्थबाट तयार पारिएका पहिरन प्रदर्शन गरेर बाजुराको प्राकृतिक सौन्दर्य र उत्पादनको सम्भावना उजागर गर्ने प्रयास गरिएको आयोजकले जनाएका छन्।
पर्यटन व्यवसायी जनेश भण्डारीका अनुसार बाजुराका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने भेडाको ऊनलाई प्रशोधन गरेर आधुनिक डिजाइनका पहिरन बनाउन सकिने सम्भावना छ। तर स्थानीय उत्पादनले उचित बजार र मूल्य पाउन नसकेको अवस्थामा त्यसलाई व्यावसायिक उत्पादन तथा बजारीकरणसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए।
बाजुरामा हाल ७० हजारभन्दा बढी भेडा रहेको बताइएको छ। भेडापालन र ऊन उत्पादनको सम्भावना बाजुरामा मात्र नभई बझाङ, दार्चुलालगायतका हिमाली जिल्लामा पनि छ। स्थानीयस्तरमा उत्पादित ऊन संकलन, प्रशोधन र व्यावसायिक उत्पादनमा जोड्न सके किसानको आम्दानी बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने पूर्वअर्थमन्त्री नरेशकुमार शाहीले बताए।
उनका अनुसार बाजुराको भेडाको ऊन गुणस्तरीय भए पनि त्यसको व्यावसायिक उपयोग र बजार विस्तार हुन सकेको छैन। स्थानीय उत्पादनलाई आधुनिक डिजाइन र प्रविधिसँग जोडेर देश तथा विदेशका बजारसम्म पुर्याउन सके यसले दीर्घकालीन आर्थिक लाभ दिन सक्छ।
शाहीले विगतमा कोल्टीबाट भेडाको ऊनका १३ बोरा बोकेर काठमाडौँ पुर्याएको प्रसंग स्मरण गर्दै स्थानीय उत्पादनको सम्भावना उजागर गर्ने प्रयास अहिले सार्थकतातर्फ अघि बढेको बताए। भेडापालनलाई व्यावसायिक बनाउने, किसानलाई उत्पादनमा प्रोत्साहित गर्ने र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने आफ्नो पहल रहेको उनको भनाइ थियो।
कासा ब्रान्डले भेडाको ऊनबाट तयार पारिएका कपडा स्वदेश तथा विदेशका बजारमा बिक्री गर्दै आएको छ। पछिल्लो समय बाजुरामा उत्पादित ऊनलाई समेत आफ्नो उत्पादनमा प्रयोग गर्न थालिएको छ। स्थानीय किसानलाई भेडापालनमा आकर्षित गर्ने र ऊनको व्यावसायिक कारोबार विस्तार गर्ने उद्देश्यले दुर्गम हिमाली क्षेत्रमा फेसन शो आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा पूर्वमन्त्री शाही, पूर्वसांसद बलदेव रेग्मी, बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहरा, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल, जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष मरु विष्टलगायत जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
आयोजकले आगामी दिनमा बाजुरा र आसपासका हिमाली जिल्लामा उत्पादित ऊन स्थानीयस्तरमै संकलन तथा प्रशोधन गर्ने रणनीति बनाएका छन्। यसका लागि उत्पादनदेखि प्रशोधन, डिजाइन र बजारीकरणसम्मको मूल्य शृङ्खला विकास गर्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुने र किसानले उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ।
बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिन्छ। तर यसको पर्यटन सम्भावना धार्मिक यात्रामा मात्र सीमित नराखी स्थानीय उत्पादन, संस्कृति, कृषि र मौलिक सीपसँग जोड्न सके पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष आर्थिक लाभ लिन सक्ने देखिन्छ।
तीन हजार मिटरको उचाइमा गरिएको यो फेसन शोले बडिमालिकाको प्राकृतिक सौन्दर्यलाई प्रचार गर्नुका साथै बाजुराको भेडाको ऊनलाई नयाँ व्यावसायिक पहिचान दिने प्रयास गरेको छ। पर्यटन र स्थानीय उत्पादनलाई एकसाथ प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमले हिमाली क्षेत्रको अर्थतन्त्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्