रोजीका पहिचान, २५ वर्ष व्यवसाय, सङ्गीतमा रुचि र अन्तर्राष्ट्रिय मञ्चमा तीन उपाधि उपाधी
ललितपुर । जीवनमा सफलता हासिल गर्न उमेरले होइन, सपना पूरा गर्ने इच्छाशक्ति र निरन्तर प्रयासले भूमिका खेल्छ भन्ने उदाहरण बनेकी छन् रोजी श्रेष्ठ। २५ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएकी उनले आफ्नो व्यावसायिक पहिचानसँगै सङ्गीत, मोडलिङ र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत सफलता हासिल गरेकी छन्। पारिवारिक जिम्मेवारी र व्यावसायिक व्यस्तताका बीच आफ्ना रुचि र प्रतिभालाई अघि बढाएकी श्रेष्ठको पछिल्लो उपलब्धिले उनलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाएको छ।
धनुषाको मिथिला नगरपालिका–११, दूधपानी स्थायी घर भएकी श्रेष्ठ हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बसेपनि व्यावसायिक सफलता र अन्तर्राष्ट्रिय पहिचानले संसार चिनिएकी छन् । विगत २५ वर्षदेखि ‘रोजी आट्र्स डिजिटल प्रिन्ट्स’ सञ्चालन गर्दै आएकी रोजी लामो समयदेखि व्यवसायमा सक्रिय रहे पनि उनको रुचि व्यावसायिक क्षेत्रमै सीमित रहेन। गायनप्रतिको लगावलाई निरन्तरता दिँदै आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्दै आएकी उनले हालै ‘तिमीले फूल दियौ’ गीत पनि श्रोता तथा दर्शकमाझ ल्याएकी छन्।
उनको जीवनको अर्को महत्त्वपूर्ण उपलब्धि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितासँग जोडिएको छ। २०८३ साउन १६ गते राष्ट्रिय नाचघरमा समारी इन्टरनेसनलले आयोजना गरेको ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड–२०२६’ को उपाधि जितेपछि उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन्।
थाइल्यान्डको खोन केनमा आयोजित ‘क्लासिक मिसेस एसिया इन्टरनेसनल’ प्रतियोगितामा १६ देशका प्रतिस्पर्धी सहभागी थिए। उक्त प्रतियोगितामा श्रेष्ठले तीनवटा उपाधि जितिन्। उनले ‘क्लासिक मिसेस एसिया फ्रेन्डसिप विनर–२०२६’, ‘क्लासिक मिसेस ट्यालेन्ट क्विन–२०२६’ र ‘क्लासिक मिसेस कन्फिडेन्स एसिया–२०२६’ को उपाधि आफ्नो नाममा पारिन्।
प्रतियोगितामा उनको प्रस्तुति सौन्दर्य र व्यक्तित्व प्रदर्शनमा मात्र सीमित थिएन। नेपाली मौलिक कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने प्रयास पनि त्यसमा जोडिएको थियो। उनले जीवित देवी कुमारीको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी दिँदै कुमारी नृत्य प्रस्तुत गरेकी थिइन्। नेपाली संस्कृतिको विशिष्ट पहिचान झल्काउने उक्त प्रस्तुतिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक विविधता चिनाउने अवसर प्रदान गरेको थियो।
प्रतियोगितामा प्राप्त तीन उपाधिमध्ये ‘फ्रेन्डसिप विनर’ उनको आत्मीय व्यवहार र अन्य देशका प्रतिस्पर्धीसँगको सम्बन्धको समेत प्रतिफल थियो। उनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता उपाधि जित्ने अवसर मात्र नभई विभिन्न देशका महिलासँग अनुभव साटासाट गर्ने, नयाँ मित्रता गाँस्ने र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने माध्यमसमेत बन्यो।
श्रेष्ठ आफ्नो सफलताको श्रेय परिवारको साथ र विश्वासलाई दिन्छिन्। विशेषगरी श्रीमान् रोशन श्रेष्ठले आफ्नो क्षमतामाथि विश्वास गर्दै निरन्तर प्रोत्साहन गरेको बताउने उनी छोरी सन्ध्या श्रेष्ठ र छोरा सचिन श्रेष्ठको हौसलाले पनि नयाँ क्षेत्रमा अघि बढ्न ऊर्जा दिएको बताउँछिन् ।
‘मेरो क्षमतामाथि मभन्दा बढी विश्वास गर्ने व्यक्ति मेरा श्रीमान् हुनुहुन्छ। उहाँको साथ र परिवारको प्रोत्साहन नभएको भए आफ्ना रुचि र सपनालाई यसरी निरन्तरता दिन सहज हुने थिएन,’ उनी भन्छिन्।
व्यवसाय, गायन, मोडलिङ र सौन्दर्य प्रतियोगिताजस्ता फरक क्षेत्रमा एकसाथ सक्रिय रहन समय व्यवस्थापन चुनौतीपूर्ण हुने उनको अनुभव छ। तर स्पष्ट लक्ष्य, अनुशासन र पारिवारिक सहकार्यले जिम्मेवारी तथा व्यक्तिगत रुचिबीच सन्तुलन कायम गर्न सकिने उनी बताउँछिन्। आफ्नो यात्रामा कर्मचारी, सङ्गीतकर्मी, साथीभाइ, आफन्त, छिमेकी र शुभचिन्तकको सहयोग पनि महत्त्वपूर्ण रहेको उनले उल्लेख गरेकी छन्।
श्रेष्ठको उपलब्धिलाई सौन्दर्य प्रतियोगितामा प्राप्त उपाधिका आधारमा मात्रै मूल्याङ्कन गर्न सकिँदैन। लामो व्यावसायिक अनुभवलाई निरन्तरता दिँदै सङ्गीतप्रतिको रुचि जीवित राख्नु र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संस्कृति प्रस्तुत गर्नु उनको यात्राका फरक आयाम हुन्।
उनको अनुभवले पारिवारिक जिम्मेवारी र उमेरलाई महिलाको व्यक्तिगत सपना पूरा गर्ने बाधाका रूपमा लिन नहुने सन्देश दिन्छ। महिलाले आफ्नो क्षमता पहिचान गरेर अवसरको सदुपयोग गर्न सके जीवनको जुनसुकै चरणमा पनि नयाँ पहिचान बनाउन सक्ने उनको विश्वास छ। श्रेष्ठका लागि पछिल्ला अन्तर्राष्ट्रिय उपाधि यात्राको अन्तिम गन्तव्य नभई नयाँ सम्भावनाको सुरुवात हुन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्