Logo

रसुवा–भोटेकोशी विपद्को उदाहरण दिँदै कोप–३१ मा नेपालद्वारा ‘लिभिङ सगरमाथा’ रणनीति प्रस्तुत

ललित सन्देश २०८३ कार्तिक २६, ११:०४ AM
रसुवा–भोटेकोशी विपद्को उदाहरण दिँदै कोप–३१ मा नेपालद्वारा ‘लिभिङ सगरमाथा’ रणनीति प्रस्तुत

काठमाडौँ — टर्किएमा जारी कोप–३१ सम्मेलनलाई सम्बोधन गर्दै कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु सङ्कटको सामना गर्न नेपालले ‘लिभिङ सगरमाथाः नेपाल पर्वतीय उत्थानशीलता रणनीति’ अघि सारेको जानकारी गराउनुभएको छ। उक्त रणनीतिले जलवायु कार्य, जैविक विविधता संरक्षण, आर्थिक समृद्धि, सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र क्षेत्रीय कूटनीतिलाई एकीकृत गरेको उहाँले स्पष्ट पार्नुभयो।

सोही क्रममा गत अगस्ट २६ मा नेपालले सामना गरेको रसुवा–भोटेकोशी विपद्लाई उदाहरण दिँदै मन्त्री चौधरीले हिमनदी र चट्टान खस्ने घटनासँग सम्बन्धित उक्त विपद्ले अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको विश्व समुदायलाई जानकारी गराउनुभयो। उहाँका अनुसार सो विपद्‌मा परी करिब एक हजार पाँच सय जनाको ज्यान गएको छ भने पाँच हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन्। उक्त विपद्‌पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबरको आर्थिक स्रोत आवश्यक रहेको र बूढीगण्डकी करिडोरमा समेत त्यस्तै प्रकृतिका विपद्का घटना देखिएको उहाँले उल्लेख गर्नुभयो।

रणनीति कार्यान्वयनका लागि ठोस अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै मन्त्री चौधरीले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्नेमा जोड दिनुभयो। तापक्रम वृद्धिको प्रत्येक अंशले हिमाली चुचुरा र तल्लो तटीय क्षेत्रका समुदायको अस्तित्वमा प्रत्यक्ष असर पार्ने चेतावनी दिँदै उहाँले विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्