Logo

स्थानीय तहका उम्मेदवार छनोटमा रास्वपाको सातबुँदे निर्देशन, आर्थिक चलखेल र शक्ति दुरुपयोग नगर्न चेतावनी

ललित सन्देश २०८३ कार्तिक २०, १२:४८ PM
स्थानीय तहका उम्मेदवार छनोटमा रास्वपाको सातबुँदे निर्देशन, आर्थिक चलखेल र शक्ति दुरुपयोग नगर्न चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न चाहने नेता तथा आकांक्षीलाई लक्षित गर्दै सातबुँदे निर्देशन जारी गरेको छ। पार्टीभित्र उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत बनाउन भन्दै केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्देशन जारी गरेको हो।

केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले जारी गरेको निर्देशनमा आन्तरिक लोकतन्त्रको विश्वसनीयता कायम राख्न, विधिको पालना गर्न तथा निर्वाचन प्रक्रियामा निष्पक्षता र संस्थागत जवाफदेहिता सुनिश्चित गर्न जोड दिइएको छ।

निर्देशनमा पार्टीको विधान, स्थापित कार्यविधि र आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन भनिएको छ। उम्मेदवार बन्ने आकांक्षी तथा पार्टीका जिम्मेवार नेताहरूले व्यक्तिगत स्वार्थभन्दा संस्थागत विधि र निर्णय प्रक्रियालाई प्राथमिकता दिनुपर्ने समितिको निर्देशन छ।

त्यस्तै, उम्मेदवार छनोट वा आन्तरिक निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या तथा पद र शक्तिको दुरुपयोग नगर्न सचेत गराइएको छ। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आचारसंहिता र पार्टी निर्देशनविपरीतका सामग्री प्रकाशन तथा साझा नगर्न पनि भनिएको छ।

निर्देशन उल्लङ्घन गर्नेलाई कारबाहीको चेतावनीसमेत दिइएको छ। उल्लङ्घनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेज गर्ने, छनोट प्रक्रियाबाट निष्कासन गर्ने, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्ने समितिले स्पष्ट पारेको छ।

‘पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई उल्लङ्घनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्छ,’ निर्देशनमा उल्लेख छ।

स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टीभित्र उम्मेदवार बन्ने आकांक्षीहरूको गतिविधि बढ्न सक्ने अवस्थामा रास्वपाले जारी गरेको निर्देशनले उम्मेदवार छनोटमा आर्थिक प्रभाव, गुटगत प्रतिस्पर्धा र शक्ति दुरुपयोग रोक्ने प्रयास गरेको देखिन्छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्