चितवन निकुञ्जमा १४५ पाटेबाघ र ६९४ एकसिङ्गे गैँडा: पर्यटकको आकर्षण बढ्दै
चितवन — दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघको मुख्य बासस्थान मानिने चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या उल्लेख्य रहेको छ। सन् २०२५ को पछिल्लो गणनाअनुसार देशभर रहेका कुल ४२९ पाटेबाघमध्ये चितवन निकुञ्जमा मात्रै १४५ वटा पाटेबाघ रहेका छन्। त्यस्तै, देशभर रहेका ७५२ एकसिङ्गे गैँडामध्ये ६९४ वटा यही निकुञ्जमा रहेका छन्।
पाँच वर्षयता गैँडाको औपचारिक गणना नभएकाले हाल यसको सङ्ख्या अझै बढेको निकुञ्ज प्रशासनको अनुमान छ। निकुञ्ज घुम्न आउने अधिकांश पर्यटकले गैँडालगायतका वन्यजन्तु सहजै देख्न सक्छन् भने कहिलेकाहीँ दुर्लभ पाटेबाघसमेत देखिने गरेको छ। निकुञ्जमा बाघ देख्ने पर्यटकलाई विशेष भाग्यमानीसमेत मान्ने गरिएको छ।
वर्षातको समयमा बाटो बिग्रने भएकाले बन्द गरिने सफारी हिउँद सुरु भएसँगै निकै गुल्जार हुने गरेको छ। निकुञ्जभित्र जीप सफारीका अतिरिक्त पर्यटकहरूले डुङ्गा र पैदल यात्राका माध्यमबाट पनि निकुञ्जको अवलोकन गर्ने गरेका छन्। यसका साथै, निकुञ्ज बाहिरका मध्यवर्ती सामुदायिक वनहरूमा समेत जीप र हात्ती सफारी सञ्चालन गरिँदै आएकाले चितवन आउने पर्यटकहरूले विविध तरिकाले जङ्गल सफारीको अनुभव लिने गरेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्