नवलपुरको नारायणी नदीकिनारामा लागुऔषध दुर्व्यसनीको अखडा
नवलपुर — नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित नारायणी नदीकिनारामा पछिल्लो समय लागुऔषध प्रयोगकर्ता (दुर्व्यसनी) हरूको सङ्ख्या बढ्दै गएपछि स्थानीय बासिन्दाले गहिरो चिन्ता व्यक्त गरेका छन्। पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण बन्दै गएको मध्यविन्दु–३ स्थित नारायणी नदीकिनारलाई बाहिरबाट आउने व्यक्तिहरूले लागुपदार्थ सेवन गर्ने अखडा बनाउँदै लगेको स्थानीय भरत श्रेष्ठले बताउनुभयो।
गाउँ बाहिरका मानिसहरू यहाँ आउने, नदी किनारमा सवारीसाधन पार्किङ गर्ने र किनारमा रहेको खरको झाडीमा लुकेर गाँजालगायतका लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयको भनाइ छ। यस्ता अवाञ्छित गतिविधि बढेपछि नदी किनारमा बालबालिका लिएर जानसमेत डर लाग्ने अवस्था सिर्जना भएको स्थानीय कविता पौडेलले गुनासो गर्नुभयो।
जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सदस्य राजु अर्यालले किशोरावस्थाका युवाहरूलाई दुर्व्यसनीमा नलाग्न पटक–पटक गरिएको अनुरोधको सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गर्नुभयो। टाढाबाट आउने मानिसहरू होटलमा भन्दा पनि खुला ठाउँमा बसेर दृश्यावलोकनमा रमाउने नाममा यस्ता गतिविधिमा संलग्न हुने गरेको उहाँले बताउनुभयो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्