Logo

सुश्रुतले हराए इरानी आईएमलाई, कृतिसराको बराबरी

ललित सन्देश २०८३ कार्तिक ३०, २:५५ PM
सुश्रुतले हराए इरानी आईएमलाई, कृतिसराको बराबरी

कार्तिक ३०, काठमाडौं ।

रुसको मस्कोमा जारी अन्तर्राष्ट्रिय रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन्। रापिडतर्फ नेपालका क्यान्डिडेट मास्टर (सीएम) सुश्रुत दहालले इरानका अन्तर्राष्ट्रिय मास्टर (आईएम) दघली आरसलाई पराजित गरेका छन्। महिला रापिडतर्फ डब्लूसीएम कृतिसरा अधिकारीले पनि काजकिस्तानकी डब्लूएफएम झुनुस बेकोभा एमोनचोकलाई हराएकी छन्।

रुस चेस फेडेरेसनको आयोजनामा मस्कोस्थित एम. मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधाअन्तर्गत रापिड तथा ब्लिट्ज प्रतियोगिता सम्पन्न भएको हो। सांघाई अन्तर्राष्ट्रिय स्टेट सदस्य राष्ट्रहरूबीच आयोजित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतिस्पर्धा भइरहेको छ।

२१४३ रेटेड सुश्रुतले २३२८ रेटेड इरानी अन्तर्राष्ट्रिय मास्टर दघली आरसलाई हराउँदै महत्वपूर्ण जित निकालेका हुन्। रापिडमा सुश्रुतसँगै सीएम आशिष फुयालले समान तीन अंक हासिल गरे।

महिला रापिडतर्फ नौ चरणको प्रतिस्पर्धामा कृतिसराले काजकिस्तानकी डब्लूएफएम झुनुस बेकोभा एमोनचोकलाई पराजित गर्दै पाँच अंक जोडिन्।

यसैगरी ११ चरणको ब्लिट्ज प्रतिस्पर्धामा आशिष फुयाल र कृतिसराले समान पाँच अंक हासिल गरे। कृतिसराले अन्तिम खेलमा बेलारुसकी २११० रेटेड डब्लूएफएम पोलिएकोभा भार्भरासँग बराबरी खेलिन्।

जुनियर ओलम्पियाड डब्लूसीएम निहाना श्रेष्ठले पनि प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव हासिल गरेकी छन्।

प्रतियोगिताको तेस्रो दिन टिम रापिड र चौथो दिन टिम ब्लिट्जका खेल सञ्चालन हुनेछन्। दुवै टिम विधामा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ आशिष फुयाल र सुश्रुत दहाल तथा महिलातर्फ कृतिसरा र निहाना श्रेष्ठ नेपाली टोलीबाट सहभागी हुनेछन्।

अध्यक्ष हेराकाजी महर्जनको नेतृत्वमा प्रतियोगितामा सहभागी छ सदस्यीय नेपाली टोली नोभेम्बर १९ मा स्वदेश फर्कने कार्यक्रम छ। स्वदेश फर्किएलगत्तै टोलीका सदस्यहरू १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेल सञ्चालनमा जुट्ने जनाइएको छ।

यसैबीच प्रतियोगिताका क्रममा नेपाल बुद्धिचाल महासंघ र मस्को रिजन चेस फेडेरेसनबीच बुद्धिचाल खेलको विकास र विस्तारका विभिन्न विषयमा द्विपक्षीय महत्वपूर्ण सम्झौता हुने महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी दिएका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्