भेडेटार–रवि–राँके सडकको भौतिक प्रगति ७२ प्रतिशत
धनकुटा — कोशी र मेची राजमार्गलाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्गका रूपमा रहेको करिब १००.३६७ किलोमिटर लामो भेडेटार–रवि–राँके सडक निर्माणको पछिल्लो अवस्था बुझ्न धनकुटा, पाँचथर र इलामका स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले आइतबार संयुक्त स्थलगत अनुगमन गरेका छन्। अनुगमन टोलीमा साँगुरीगढी, चौबिसे, मिक्लाजुङ, फाल्गुनन्द, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधिसहित आयोजना कार्यालय र निर्माण कम्पनीका प्रतिनिधि सहभागी थिए। जनप्रतिनिधिहरूले आवश्यक स्थानीय समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन्।
निर्माण कम्पनीका परियोजना म्यानेजर अभय मिश्रका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ६८.५६ प्रतिशत पुगेको छ। कोभिड महामारी, निर्माण सामग्रीको मूल्यवृद्धि र पहाडी भूभागमा 'ब्याक कटिङ'का क्रममा खसेका पहिरोले विगतमा काम प्रभावित भए पनि अब जनशक्ति र उपकरण थपेर निर्माणलाई तीव्रता दिइने उनले बताए। कुल लम्बाइमध्ये ४५.४ किलोमिटर धनकुटा, ३०.१८ किलोमिटर पाँचथर, २२.१० किलोमिटर इलाम र २.६० किलोमिटर सीमा क्षेत्रमा पर्ने यस सडक बनेपछि तीन जिल्लाको पर्यटन र कृषि उपजको बजारीकरणमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्