Logo

बुढीगण्डकी बाढीपछि प्रधानमन्त्रीको स्टाटस, ढुक्क हुनुस् आवश्यक कदम चालिसकेका छौं

ललित सन्देश २०८३ आश्विन २५, ४:१६ PM
बुढीगण्डकी बाढीपछि प्रधानमन्त्रीको स्टाटस, ढुक्क हुनुस् आवश्यक कदम चालिसकेका छौं

काठमाडौं/प्रधानमन्त्री वालेन्द्र शाहले बुढीगण्डकीमा बाढी आएका कारण भएको भौतिक क्षति तथा मानवीय विपतको अवस्था पछि साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै नागरिकहरुलाई नआत्तिन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले आफूहरुले आवश्यक कदम चालिसकेको जनाउँदै बाढी प्रभावित क्षेत्रका लागि जनजीवन सामान्य बनाउन आवश्यक काम गर्न सबै निकाय तुरुन्तै परिचालित भएको बताएका छन् ।

प्रधानमन्त्री शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस् लेख्दै बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा भइरहेका कामबारे जानकारी दिएका छन्। उनले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने सरकारले काम सुरु गरिसकेको जनाएका छन्।

‘सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधारहरू पुनः सुचारु गर्न आवश्यक कदम अगाडि बढाइसकेको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘आरुघाटमा बेलीब्रिज जडानको लागि तयारी थालिसकिएको छ।’

आइतबार बिहान बुढीगण्डकीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा क्षति पु¥याएको छ। बाढीमा परेर पाँच जना सम्पर्कविहीन भएका छन् भने १३२ भौतिक संरचनामा क्षति पुगेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको स्टाटस :
गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बुढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी ५ जना बेपत्ता हुनुभएको सूचना प्राप्त भएको छ जसको खोजी कार्य तीव्र पारिएको छ । बाढीले झोलुङ्गे र पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी हाइड्रो क्याम्प क्षेत्र, निर्माण उपकरण र वरिपरि रहेका घरहरू बगाएको छ।

बाढीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली खटिएर नदी तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी ९पूर्व० र नवलपरासी ९पश्चिम० जिल्लाका २२१ जना प्रतिकार्यकर्ताहरूलाई तुरुन्त प्रतिकार्यमा खटिन एसएमएस पठाइयो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखामा गोरखा, धादिङ, चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुईपटक गरी करिब २ लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरियो।

प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। प्रभावित क्षेत्रमा अहिले पनि खोजी तथा उद्धार जारी छ। नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बल, नेपालका १७७ गरी ४३७ जना सुरक्षाकर्मी र नेपाली सेनाको चारवटा हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

घटनाको कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीनजनाको टोली ड्रोनसहित परिचालन गरिएको छ। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।

प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर चलिरहेको छ। बैठकबाट बाढीको निरन्तर अनुगमन, अवस्था विश्लेषण र आवश्यक सूचना सम्प्रेषण तथा प्रतिकार्यका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय, सहजीकरण गर्नुका साथै निर्देशन समेत दिइएको छ।

बाढी सम्बन्धी जानकारी प्राधिकरणलगायत सबै सरोकारवाला निकायका सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् निरन्तर संम्प्रेषण भइरहेको छ। स्थल र हवाई मार्गबाट अत्यावश्यक राहत सामाग्री ढुवानी भइरहेको छ। सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक संचालन तथा बेलिब्रिज संभाव्यता अध्ययनका लागि खटिसकेको छ।

गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय तहका आपत्कालीन चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा अलपत्र पर्यटकहरुको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीहरूलाई निर्देशन गरिएको छ।

सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधारहरू पुनस् सुचारु गर्न आवश्यक कदम अगाडि बढाइसकेको छ। आरुघाटमा बेलीब्रिज जडानको लागि तयारी थालिसकिएको छ।

बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गर्दछौं।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्