दशैंको दोश्रो दिन, शक्तिपिठमा भक्तजनको भीड
काठमाडौं/बडादसैँको दोस्रो दिन देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। नवरात्रका अवसरमा बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि मन्दिर पुग्नेहरूको भीड लागेको छ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी र टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको चाप बढेको छ।
दसैँको आगमनसँगै शक्तिपीठहरू ध्वजापताका र आकर्षक सजावटले सिँगारिएका छन्। मन्दिर परिसरमा गुञ्जिएका देवीका भजन, मङ्गल धुन र स्तोत्र वाचनले वातावरण भक्तिमय बनेको छ। मैतीदेवी मन्दिर प्रवेश गर्ने सडकमा आकर्षक द्वार बनाइएको छ भने नक्साल भगवती मन्दिर परिसरलाई पनि विशेष रूपमा सजाइएको छ।
नवरात्रका नौ दिन फरक–फरक शक्तिपीठमा पुगेर देवीको दर्शन गर्ने धार्मिक मान्यताअनुसार कतिपय भक्तजनले दैनिक नयाँ मन्दिर पुग्ने योजना बनाएका छन्। उपत्यकाबाहिरका शक्तिपीठमा पनि दर्शनार्थीको चहलपहल बढेको छ।
पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारा र बडिमालिकालगायत शक्तिपीठमा भक्तजन पुग्ने क्रम जारी छ।
शारदीय नवरात्रमा शक्तिपीठमा पुगेर पूजा आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। नवरात्रका नौ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ। विधिपूर्वक साधना र आराधना गरे शक्ति प्राप्त हुने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ।
नवरात्रभर पूजा गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनबाट ग्रहण गर्ने परम्परा छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाको जलले अभिषेक गरी दुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ। केही समुदायमा भने सेतो अक्षताको टीका लगाउने परम्परा पनि रहेको छ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्