पर्यटन बोर्डको सीईओ छनोटविरुद्ध सर्वोच्चमा रिट, कारण देखाऊ आदेश जारी
काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले विपक्षीहरूका नाममा आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो। रिटमा माग गरिएको अन्तरिम आदेशबारे छलफल गर्न मंसिर १४ गते पेसी तोकिएको छ।
बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया, वरिष्ठ अधिकृत प्रज्ञा घिमिरे र पर्यटन व्यवसायी ज्ञानेश्वरप्रसाद सिंह महतोले रिट दायर गरेका हुन्। उनीहरूले सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूची कानुनी मापदण्डविपरीत रहेको दाबी गरेका छन्।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार सीईओका लागि स्नातकोत्तर उपाधिसहित पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव अनिवार्य छ। तर, केही उम्मेदवारको स्नातकोत्तरपछिको अनुभव १० वर्ष नपुगेको र केहीको अनुभव कानुनले तोकेको संस्थागत तथा अधिकृतस्तरको मापदण्डअनुसार नभएको निवेदकहरूको जिकिर छ।
छनोट प्रक्रियामा दरखास्त स्वीकृत तथा अस्वीकृत भएका उम्मेदवारको विवरण सार्वजनिक नगरिएको भन्दै पारदर्शितामाथि समेत प्रश्न उठाइएको छ।
बोर्डले भदौ २६ गते दरखास्त आह्वान गरेकोमा छनोट उपसमितिले कात्तिक २० गते १६ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्