नदी किनारबाट हटाइएका सुकुम्वासीलाई दुई दिनभित्र होल्डिङ सेन्टर छाड्न प्रशासनको निर्देशन
काठमाडौँ । काठमाडौँका नदी किनार तथा सार्वजनिक जग्गाबाट हटाइएका सुकुम्वासी परिवारलाई सरकारले होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएको छ। भक्तपुरको वोडेस्थित कृषि विकास तालिम केन्द्रमा आश्रय लिएर बसेका परिवारलाई जिल्ला प्रशासन कार्यालयले दुई दिनभित्र स्थान खाली गर्न उर्दी जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै होल्डिङ सेन्टरमा बसिरहेका सबै परिवारलाई मंसिर ११ गते दिउँसो २ बजेसम्म स्थान खाली गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काद्वारा जारी सूचनामा भूमिहीनको हैसियत नराख्ने तथा जग्गा नभेटिएका दुवै समूहका व्यक्तिलाई होल्डिङ सेन्टर छाड्न भनिएको छ।
प्रशासनका अनुसार उक्त होल्डिङ सेन्टरमा अहिले १९ परिवार बस्दै आएका छन्। तीमध्ये सात परिवारको पुर्ख्यौली थलोमा जग्गा रहेको पाइएको छ भने बाँकी १२ परिवारका नाममा देशका कुनै पनि स्थानमा जग्गा नभेटिएको सूचनामा उल्लेख छ।
तर, जग्गा भएका सात परिवार मात्र नभई जग्गा नभेटिएका १२ परिवारलाई समेत होल्डिङ सेन्टर खाली गर्न भनिएको छ। सूचनामा भनिएको छ, ‘भूमिहीन नठहरिने भएका र जग्गा नदेखिएका सम्पूर्ण व्यक्तिहरूलाई यही मिति २०८३/०८/११ गते १४:०० बजेभित्र होल्डिङ सेन्टर खाली गर्न हुन सूचित गरिन्छ।’
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा गत वैशाख १२ गतेदेखि काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु गरिएको थियो। त्यसक्रममा नदी किनारका बस्तीमा डोजर चलाएर घरटहरा भत्काइएको थियो। विस्थापित परिवारलाई तत्कालका लागि विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको थियो।
बस्ती हटाउने क्रममा सरकारले प्रभावित परिवारलाई तीन महिनाभित्र वैकल्पिक बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो। तर, बस्तीबाट हटाइएका परिवारको स्थायी वा वैकल्पिक आवास व्यवस्थापन हुन नसकिरहेका बेला उनीहरूलाई आश्रयस्थलसमेत खाली गर्न निर्देशन दिइएको हो।
प्रशासनको पछिल्लो सूचनाले जग्गा नभएका भनेर पहिचान गरिएका १२ परिवार अब कहाँ जाने भन्ने प्रश्नसमेत उठाएको छ। तीन महिनाभित्र आवासको व्यवस्था गर्ने भनिए पनि महिनौँ बितिसक्दा पुनःस्थापनाको ठोस व्यवस्था नहुँदै होल्डिङ सेन्टर छाड्नुपर्ने अवस्था आएको छ।
यससँगै नदी किनारका बस्ती हटाउने सरकारी अभियान र त्यसबाट विस्थापित भूमिहीन परिवारको पुनःस्थापनासम्बन्धी प्रतिबद्धता कार्यान्वयनको विषय फेरि चर्चामा आएको छ। आवासको वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउँदा वास्तविक भूमिहीन परिवार थप आवासविहीन हुने जोखिम देखिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्