Logo

ललितपुरमा समुदायस्तरीय एआई साक्षरता कार्यक्रम

ललित सन्देश २०८३ आश्विन २६, ३:४१ AM
ललितपुरमा समुदायस्तरीय एआई साक्षरता कार्यक्रम

ललितपुर। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको जिम्मेवार प्रयोग र डिजिटल रूपान्तरणमा समुदायको सहभागिता बढाउने उद्देश्यले ललितपुरमा सञ्चालन गरिएको समुदायस्तरीय एआई साक्षरता परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

‘फ्रम एक्सेस टु एजेन्सी : नेपालमा असमानता न्यूनीकरणका लागि एआई साक्षरता’ नामक परियोजना असोज २३ गते अनुभव आदानप्रदान तथा छलफल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको हो। ललितपुर महानगरपालिका वडा नं. २ को सहकार्यमा सञ्चालित परियोजनालाई लन्डन स्कुल अफ इकोनोमिक्सको इन्टरनेसनल इनइक्वालिटिज इन्स्टिच्युटअन्तर्गतको एट्लान्टिक फेलोसिप फर सोसल एन्ड इकोनोमिक इक्विटीले सहयोग गरेको थियो।

गत जुन महिनामा सञ्चालन गरिएको तालिममा सहभागी समुदायका सदस्य, स्थानीय जनप्रतिनिधि, स्वयंसेवक तथा विकास साझेदारले एआई प्रविधि दैनिक कामकाज, अध्ययन, सञ्चार र सामुदायिक गतिविधिमा प्रयोग गर्दाका अनुभव साझा गरेका थिए। प्रस्तुति, प्रदर्शन र छलफलमार्फत उनीहरूले एआई प्रयोगबाट प्राप्त अवसरसँगै स्थानीय सन्दर्भमा देखिएका चुनौतीबारे पनि धारणा राखेका थिए। कार्यक्रममा परियोजनासम्बन्धी प्रारम्भिक वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।

सहभागीहरूले एआई साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउन प्रविधि प्रयोग गर्ने सीप मात्र नभई आवश्यक उपकरण तथा डिजिटल साधनमा पहुँच पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिए। एआईबाट प्राप्त सूचना सही भए–नभएको छुट्याउने आलोचनात्मक सोच, नैतिक प्रयोग, आत्मविश्वास र व्यावहारिक सीप विकासलाई पनि उनीहरूले महत्त्वपूर्ण मानेका थिए।

कार्यक्रममा नीतिनिर्माता, शिक्षक तथा विकास क्षेत्रमा कार्यरत संस्थाका लागि सुझाव तयार गर्न समूहगत छलफलसमेत गरिएको थियो। सहभागीहरूले स्थानीय आवश्यकता अनुकूल, समावेशी, पहुँचयोग्य र व्यावहारिक एआई साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

परियोजना संयोजक तथा संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवक (यूएनभी) का अनलाइन स्वयंसेवक जयराजकुमार राय दनुवारले समुदायमा आधारित दृष्टिकोणले एआई साक्षरता विस्तार गर्न सकिने सम्भावना देखाएको बताए।

उनका अनुसार प्रविधिमा पहुँच हुनु मात्र पर्याप्त हुँदैन; त्यसलाई प्रभावकारी र जिम्मेवार ढङ्गले प्रयोग गर्न आवश्यक आत्मविश्वास, आलोचनात्मक सोच र व्यावहारिक सीप पनि विकास गर्नुपर्छ। समुदायका सदस्यले आफ्ना अनुभव र आवश्यकताका आधारमा समावेशी डिजिटल भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न सक्ने उनले बताए।

आयोजकका अनुसार परियोजनाबाट प्राप्त अनुभवले नेपालमा डिजिटल पहुँच विस्तार, एआई प्रयोगका लागि आवश्यक क्षमता विकास तथा स्थानीय समुदायको आवश्यकता सम्बोधन गर्ने कार्यक्रम निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्