गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकतामा : मन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तारमा मात्र सीमित नराखी नागरिकको जीवनस्तर सुधारसँग जोड्नुपर्नेमा जोड दिएका छन्।
राजधानीमा बुधबार आयोजित १७औँ एसिया प्यासिफिक क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम (एपीआरआईजीएफ) को समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिले शिक्षा, सञ्चार र व्यवसायमा नागरिकको पहुँच सहज बनाउनुका साथै सार्वजनिक सेवा र नागरिक जीवनमा सहभागिता बढाएको बताए।
नेपालको भौगोलिक विविधताका कारण विशेषगरी ग्रामीण, दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट सेवा विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो। इन्टरनेटको पहुँच विस्तारसँगै सेवाको गुणस्तर, विश्वसनीयता र निरन्तरतामा पनि ध्यान दिइने उनले बताए।
“डिजिटल रूपान्तरणको उद्देश्य प्रविधिलाई डिजिटल बनाउने अभियानमा मात्र सीमित छैन, यसको नागरिकको जीवन सुधारमा प्रत्यक्ष प्रभाव पर्छ,” मन्त्री तिमिल्सिनाले भने। नागरिकले आवश्यक परेको समयमा भरपर्दो र गुणस्तरीय डिजिटल सेवा प्राप्त गर्न सक्ने अवस्था निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
व्यवसाय सञ्चालनका लागि भरपर्दो नेटवर्क, सार्वजनिक सेवा प्रवाहका लागि अविच्छिन्न सञ्चार तथा विपद्का बेला पनि प्रभावकारी रहने सञ्चार प्रणालीको महत्त्व बढ्दै गएको उनले उल्लेख गरे। भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको हिमतालजन्य विपद्ले विपद् प्रतिरोधी सञ्चार पूर्वाधारको आवश्यकता थप स्पष्ट पारेको उनको भनाइ थियो।
सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त हुँदा र समुदायबीचको सम्पर्क विच्छेद हुँदा सञ्चार सुविधाले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। यस्तो अवस्थामा भरपर्दो सञ्चार प्रणालीले सूचना प्रवाह, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुर्याउँछ।
मन्त्री तिमिल्सिनाका अनुसार डिजिटल प्रविधिले ग्रामीण क्षेत्रका विद्यार्थीलाई विश्वव्यापी ज्ञानमा पहुँच, किसानलाई बजार तथा मौसमसम्बन्धी सूचना र साना उद्यमीलाई आफ्नो बजार विस्तार गर्ने अवसर उपलब्ध गराएको छ।
उनले डिजिटल पहुँच विस्तारसँगै डिजिटल समावेशिता, साइबर सुरक्षा, सेवाको विश्वसनीयता र विपद् प्रतिरोधी सञ्चार प्रणालीको विकासलाई पनि सरकारले प्राथमिकता दिएको जानकारी दिए।
डिजिटल प्रविधिको लाभ सबै नागरिकसम्म पुर्याउन गुणस्तरीय इन्टरनेटको पहुँच विस्तार, सुरक्षित डिजिटल पूर्वाधार र विपद्का बेला पनि सञ्चालनमा रहन सक्ने सञ्चार प्रणाली विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्