Logo

लोभको पासोमा डिजिटल बैंकिङ, एउटा ओटीपीले रित्याउँछ बैंक खाता

ललित सन्देश २०८३ आश्विन २६, ३:५८ AM
लोभको पासोमा डिजिटल बैंकिङ, एउटा ओटीपीले रित्याउँछ बैंक खाता

काठमाडौं । निःशुल्क भिडियो हेर्ने अवसर, आकर्षक उपहार, अनलाइन रोजगारी र बैंक खाता अद्यावधिक गर्नुपर्ने सूचना—सामान्य देखिने यिनै प्रलोभन अहिले मोबाइल बैंकिङमार्फत हुने ठगीका माध्यम बनिरहेका छन्। डिजिटल प्रविधिको प्रयोग बढ्दै गए पनि त्यसको सुरक्षित प्रयोगबारे पर्याप्त ज्ञान नहुँदा सर्वसाधारणले जीवनभरको कमाइ केही मिनेटमै गुमाउनुपर्ने जोखिम बढेको छ।

गत जुन ५ मा विश्वकप फुटबलका खेल निःशुल्क हेर्न पाइने भन्दै सामाजिक सञ्जालमा राखिएका विज्ञापनमार्फत प्रयोगकर्तालाई शङ्कास्पद लिंक खोल्न र अनधिकृत एप डाउनलोड गर्न लगाएर बैंक खाता रित्याउने गिरोह नै सक्रिय भयो । नेपाल प्रहरीका अनुसार दुई साताभन्दा कम अवधिमा यस प्रकारको ठगीबाट करिब ७५ लाख रुपैयाँ गुमेको विवरण सार्वजनिक भएको थियो। ठगहरूले मोबाइलमा पहुँच बनाएर बैंक खाताबाट रकम निकाल्ने गरेको पाइएपछि प्रहरी र बैंक सम्बद्ध निकायहरुले ग्राहकलाई सचेत रहन सचेतना जगाएका छन् । मनोरञ्जनको लोभ देखाएर पनि डिजिटल ठगी हुन सक्ने जोखिम उजागर गरेको छ।

त्यस्तै, गत अगस्टमा बैंकको ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने भन्दै फोन गरेर ओटीपी लिने र स्क्रिन सेयर गर्न लगाई बैंक खातामा पहुँच बनाएको आरोपमा चार जना पक्राउ परेका थिए। प्रहरी अनुसन्धानअनुसार उनीहरूले आफूलाई बैंकका प्रतिनिधि बताउँदै सेवाग्राहीलाई विश्वासमा लिने र प्राप्त ओटीपी प्रयोग गरी रकम स्थानान्तरण गर्ने गरेको आरोप थियो। यस घटनाले बैंककै कर्मचारी भएको दाबी गर्ने व्यक्तिप्रति पनि प्रमाणित नगरी विश्वास गर्न नहुने देखाउँछ।

मोबाइल बैंकिङ ठगीमा ओटीपी अर्थात् एकपटक प्रयोग गर्न मिल्ने गोप्य कोड महत्त्वपूर्ण सुरक्षा तह हो। तर प्रयोगकर्ताले उक्त कोड ठगलाई उपलब्ध गराएमा वा नक्कली वेबसाइट तथा एपमा विवरण प्रविष्ट गरेमा त्यसको दुरुपयोग हुन सक्छ। यद्यपि सबै ठगी ओटीपीकै कारण हुँदैनन्। नक्कली लिंक, पासवर्ड चोरी, सिमकार्डको दुरुपयोग र मोबाइलमा अनधिकृत पहुँचजस्ता माध्यम पनि प्रयोग हुने गरेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले बैंक खाता बन्द भएको, उपहार परेको वा आकर्षक रोजगारी उपलब्ध भएको भन्दै आउने शङ्कास्पद सन्देश र लिंकबाट सावधान रहन आग्रह गर्दै आएको छ। ब्युरोका अनुसार यस्ता लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण सङ्कलन गरी बैंक खातामा अनधिकृत पहुँच बनाउने प्रयास हुन सक्छ।

डिजिटल साक्षरताको कमजोरीलाई ठगहरूले प्रयोग गरिरहेका बेला नागरिकले केही आधारभूत सावधानी अपनाउनु आवश्यक छ। बैंकको नाममा फोन गर्ने व्यक्तिलाई ओटीपी, पिन, पासवर्ड वा अन्य गोप्य विवरण दिनु हुँदैन। बैंकको केवाईसी अद्यावधिक गर्न, खाता खुलाउन वा पुरस्कार प्राप्त गर्न अपरिचित लिंक खोल्न र अनधिकृत एप डाउनलोड गर्नबाट जोगिनुपर्छ। बैंकिङ कारोबार गर्दा आधिकारिक एप तथा वेबसाइट मात्र प्रयोग गर्नुपर्छ। मोबाइलमा कारोबारसम्बन्धी सूचना सक्रिय राख्नु र शङ्कास्पद कारोबार देखिएमा तुरुन्त बैंकलाई खबर गर्नु पनि उत्तिकै आवश्यक छ।

ठगी भइसकेमा बैंक वा डिजिटल वालेट सेवा प्रदायकलाई तत्काल जानकारी दिई कारोबार रोक्का गर्न अनुरोध गर्नुपर्छ। कारोबारको विवरण, सन्देश र स्क्रिनसट सुरक्षित राखेर प्रहरी वा साइबर ब्युरोमा उजुरी दिनुपर्छ।

डिजिटल बैंकिङले समय र श्रम बचाएको छ, तर यसको सुविधा सुरक्षित प्रयोग गर्ने ज्ञान पनि उत्तिकै आवश्यक छ। प्रविधिमा पहुँच विस्तारसँगै डिजिटल तथा वित्तीय साक्षरता बढाउने जिम्मेवारी सरकार, बैंक तथा वित्तीय संस्था र सेवा प्रदायकको पनि हो। नागरिकलाई एप चलाउन सिकाउनु मात्र पर्याप्त हुँदैनस ठगीका नयाँ तरिका चिन्ने र जोखिमपूर्ण अवस्थामा सही निर्णय गर्न सक्ने बनाउनु आवश्यक छ। अन्यथा, केही सेकेन्डको लोभ र एउटा गोप्य कोडको असावधानीले वर्षौंको बचत गुम्न सक्छ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्