केवाइसी अपडेटको बहानामा करिब ५० लाख ठगी गर्ने गिरोह पक्राउ
रौतहट । बैंकको केवाइसी (ग्राहक पहिचान विवरण) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार पीडितको उजुरीका आधारमा अनुसन्धान गर्दा गत असोज २३ गते दिउँसो करिब ४ बजे गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नं. ५ कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको बैगनियाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा छन्। साहिल र सोनी गौर नगरपालिका–३ मा डेरा गरी बस्दै आएका थिए।
प्रहरीका अनुसार केवाइसी अपडेटका नाममा अनलाइन ठगी भएको भन्दै हालसम्म २२ वटा उजुरी परेका छन्। ती उजुरी तथा प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको एसपी रिजालले जानकारी दिए। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीले उनीहरूको साथबाट एक लाख ६२ हजार २१० नेपाली रुपैयाँ, तीन हजार २३६ भारतीय रुपैयाँ, सात थान मोबाइल, ११ थान सिमकार्ड, ३० थान बैंक जम्मा भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक पेनड्राइभ र दुई मेमोरी कार्ड बरामद गरेको छ। प्रभु बैंकको १६ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँ उल्लेख भएका चेकसहित विभिन्न बैंकिङ कागजात, डायरी तथा कापी पनि फेला परेका छन्।
ठगीको रकम कहाँ स्थानान्तरण भयो र अन्य को–को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाका मुख्य योजनाकार तथा अन्य संलग्न व्यक्तिको खोजीसमेत जारी छ।
प्रहरीले केवाइसी अपडेट गर्ने भन्दै अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन, मोबाइलको स्क्रिन सेयर नगर्न तथा ओटीपी, पिन, पासवर्ड र बैंकिङ विवरण नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक माध्यमबाट सम्पर्क गरी पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्