Logo

प्रहरी दिवसमा ७१ रक्तदान र संरक्षित बालबालिकालाई शैक्षिक सामग्री वितरण

ललित सन्देश २०८३ आश्विन २७, ११:४१ AM
प्रहरी दिवसमा ७१ रक्तदान र संरक्षित बालबालिकालाई शैक्षिक सामग्री वितरण

चितवन । नेपाल प्रहरी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले आयोजना गरेको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्। ७१औँ प्रहरी दिवस २०८३ का अवसरमा दिवसको संख्या बराबर नै रक्तदाता जुटाउने उद्देश्यले मंगलबार विद्यालय परिसरमै रक्तदान कार्यक्रम गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल रेडक्रस सोसाइटीको स्थानीय शाखासँगको समन्वयमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, प्रहरी कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए।

सोही अवसरमा विद्यालयले प्रहरी–नागरिक साझेदारी संस्थामा संरक्षित ३० जना बालबालिकाको निःशुल्क स्वास्थ्य तथा रक्त परीक्षण गर्नुका साथै प्राथमिक उपचारका लागि आवश्यक औषधि उपलब्ध गराएको छ। चितवन एभरेष्ट हस्पिटल र सगरमाथा ल्याबको प्राविधिक सहकार्यमा विशेषज्ञ चिकित्सकहरूले बालबालिकाको स्वास्थ्य जाँच गरेका हुन्। साथै, ती बालबालिकालाई विद्यालय झोला ९ब्याग० तथा शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो।




कार्यक्रम व्यवस्थापनमा सहयोग पुर्‍याउने प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, गोरेटो शैक्षिक परामर्श केन्द्र, नेपाल रेडक्रस सोसाइटीको स्थानीय शाखा र प्राथमिक औषधि सहयोग गर्ने आशिष मेडिकललगायत स्थानीय सामाजिक संघसंस्थालाई विद्यालयले सम्मान गरेको छ।

विद्यालय शिक्षामै विद्यार्थीहरूलाई रक्तदानको महत्त्व र रगत जाँचबारे जानकारी दिने उद्देश्यले विद्यालय परिसरमै कार्यक्रम आयोजना गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

‘विपद्मा सारथी, संकटमा छहारीस् प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको यस वर्षको प्रहरी दिवसका अवसरमा आयोजित यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सहयोगी भावना, अनुशासन तथा व्यक्तिगत स्वास्थ्य र सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने विश्वास विद्यालयले लिएको छ। हाल यस विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन्।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्