Logo

पूर्वमन्त्री मातृका यादवका नाति १३ लाख ७० हजार ठगीको आरोपमा पक्राउ

ललित सन्देश २०८३ मंसिर ११, ६:३४ AM
पूर्वमन्त्री मातृका यादवका नाति १३ लाख ७० हजार ठगीको आरोपमा पक्राउ

सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन् । करिब २५ वर्षीय सन्तुलनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी सन्तुलनमाथि सोही वडाका गुलाम गौस (अली) बाट पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ ठगी गरेको आरोप छ । आमा बिरामी रहेको समस्या देखाउँदै उनले गौससँग रकम लिएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरीअनुसार सन्तुलनले खल्ती एप, बैंक ट्रान्सफर र नगदमार्फत उक्त रकम लिएका थिए । रकम फिर्ता माग्दा पटक–पटक आजभोलि भन्दै आश्वासन दिए पनि फिर्ता नगरेपछि प्रहरीमा उजुरी दिएको पीडितको भनाइ छ ।

प्रहरीका अनुसार सन्तुलनमाथि गौससँग मात्र नभई अन्य व्यक्तिहरूसँग पनि लाखौँ रुपैयाँ ठगी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले मिर्चैया प्रहरीले उनलाई पाँच दिनअघि नै पक्राउ गरेको भए पनि पक्राउसम्बन्धी विवरण आफूलाई बिहीबार मात्रै प्राप्त भएको जानकारी दिए ।

पालका अनुसार पक्राउ परेका यादवविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीले उनीमाथि लागेको आरोप र अन्य व्यक्तिसँगको आर्थिक कारोबारबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, प्रहरीले उनलाई गत आइतबार नै पक्राउ गरे पनि राजनीतिक दबाबका कारण पक्राउको विवरण सार्वजनिक गर्न आनाकानी गरेको स्रोतको दाबी छ । पूर्वमन्त्री यादवले नातिलाई छुटाउन राजनीतिक दबाब बढाइरहेको पनि स्रोतको दाबी छ । यद्यपि, यी दाबीबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसँग सम्पर्क हुन सकेन । पूर्वमन्त्री मातृका प्रसाद यादव पनि आधिकारिक प्रतिक्रिया दिन सम्पर्कमा आएनन् ।

सन्तुलनमाथि लागेको ठगीको आरोप अनुसन्धानकै क्रममा रहेको छ । यस विषयमा अदालतबाट दोषी ठहर नभएसम्म उनलाई कसुरदार मान्न मिल्दैन ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्