Logo

फूलपाती बढाईको तयारी अन्तिम चरणमा, प्रधानसेनापति सिग्देलद्वारा टुँडिखेल निरीक्षण

ललित सन्देश २०८३ आश्विन २९, ३:२४ PM
फूलपाती बढाईको तयारी अन्तिम चरणमा, प्रधानसेनापति सिग्देलद्वारा टुँडिखेल निरीक्षण

काठमाडौं । दसैँको सांस्कृतिक तथा सैनिक परम्परालाई निरन्तरता दिँदै नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने फूलपाती बढाई समारोहको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। शनिबार हुने समारोहको तयारीबारे प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार टुँडिखेल पुगेर अन्तिम निरीक्षण गरेका छन्।

दसैँको अवसरमा शान्ति र समृद्धिको कामनासहित आयोजना गरिने फूलपाती बढाई समारोह नेपाली सेनाको महत्त्वपूर्ण वार्षिक कार्यक्रम हो। समारोहलाई व्यवस्थित र प्रभावकारी बनाउन भइरहेको तयारीको निरीक्षण गर्दै प्रधानसेनापति सिग्देलले कार्यक्रमको अवस्थाबारे जानकारी लिएका थिए।

समारोहको तयारी निरीक्षणपछि प्रधानसेनापति सिग्देलले सैनिक संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने फर्मेसन तथा युनिटलाई सम्मान गरेका छन्। आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका पेशागत प्रतियोगितामा सर्वोत्कृष्ट हुने फर्मेसन तथा युनिटलाई उनले पुरस्कार र कदरपत्र प्रदान गरेका हुन्।

त्यसैगरी, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानीमा बढुवा भएका सुबेदारहरूलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

दसैँसँग जोडिएको फूलपाती बढाई समारोहले सैनिक परम्परा र अनुशासनलाई सार्वजनिक रूपमा प्रस्तुत गर्नुका साथै राष्ट्रिय पर्वको महत्त्वलाई उजागर गर्दै आएको छ। यस वर्षको समारोह पनि शान्ति र समृद्धिको कामनासहित आयोजना गर्ने सेनाको तयारी छ।



ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्