पत्रकार तिमल्सिनाको पुस्तक `प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
ललितपुर । लोकतन्त्रको तीन दशक लामो अभ्यासपछि पनि नागरिकले शासन व्यवस्थामा त्यसको वास्तविक अनुभूति गर्न नपाएको बहसका बीच पत्रकार तथा मानवअधिकारकर्मी रमेशप्रसाद तिमल्सिनाको पुस्तक ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक भएको छ।
ललित सन्देशका पूर्ब कार्यकारी सम्पादक तथा मास नेपाल मिडियाद्वारा सञ्चालित मानव आवाज डटकमका सम्पादक तिमल्सिनाको पुस्तक समीक्षा गर्दै लोकतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्नेम जोड दिइएको छ ।
लोकतान्त्रिक व्यवस्था संस्थागत भए पनि त्यसको मूल्य, मान्यता र अभ्यास नागरिकको दैनिक जीवनमा स्थापित हुन नसकेको विषयलाई केन्द्रमा राखेर लेखिएको पुस्तक शुक्रबार चापागाउँमा विमोचन गरिएको हो।
समाचार संस्था मास नेपाल र गोदावरी साहित्य परिषद्को संयुक्त आयोजनामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाललगायतले पुस्तक समीक्षा गर्दै लेखकले लोकतन्त्र र मानव अधिकारका क्षेत्रमा गरेको योगदानको चर्चा गरे ।
विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले लोकतन्त्रलाई गाउँगाउँ र नागरिकको आचरणसम्म पुर्याउन नसक्नु अहिलेको प्रमुख चुनौती भएको बताए। लोकतन्त्र राजनीतिक प्रणालीका रूपमा स्थापित भए पनि व्यवहार र नागरिक जीवनमा रूपान्तरण हुन नसक्दा प्रश्नहरू उठिरहेको उनको भनाइ थियो।
पुस्तकमा लोकतान्त्रिक अभ्यास, मानवअधिकार, सुशासन, सामाजिक न्याय र राज्यको जवाफदेहितासम्बन्धी ३० वटा विश्लेषणात्मक लेख समेटिएका छन्।
पाँच खण्डमा विभाजित कृतिले नेपालको लोकतान्त्रिक यात्राका उपलब्धि, कमजोरी र चुनौतीमाथि विमर्श गरेको छ।
कार्यक्रमका अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्ने अधिकार र संस्कृतिको अन्त्य भएको दिन लोकतन्त्रसमेत संकटमा पर्ने टिप्पणी गरे। कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, साहित्यकार गोपाल सञ्जेल, अधिकारकर्मी भावना भट्ट र जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले पनि लोकतन्त्र निर्वाचन र संविधानका पानामा मात्र सीमित हुन नहुने धारणा राखे। उनीहरूले नागरिकले दैनिक जीवनमा समानता, न्याय, अधिकार र सुशासनको अनुभूति गर्न सक्ने अवस्था नै लोकतन्त्रको वास्तविक उपलब्धि हुने बताए।
तीन दशकदेखि पत्रकारिता र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील लेखक तिमल्सिनाले पुस्तकलाई समय, समाज र राज्यको लोकतान्त्रिक अभ्यासमाथि आफूले गरेको टिप्पणीको अभिलेखका रूपमा व्याख्या गरे। उनका अनुसार पुस्तकका लेखहरूले लोकतन्त्रका उपलब्धिसँगै त्यसको कार्यान्वयनमा देखिएका प्रश्न र विरोधाभासलाई बहसमा ल्याउने प्रयास गरेका छन्।
लेखककी धर्मपत्नी गीता तिमल्सिनाले लोकार्पण गरेको पुस्तक माथी बोल्दै लेखकका दाजु दीपकप्रसाद तिमल्सिनाले परिवारको गौरब बढाएको अनुभूति प्रस्तुत गरे ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्