Logo

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा, शक्तिपीठमा भक्तजनको भीड

ललित सन्देश २०८३ आश्विन ३०, १:१७ AM
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा, शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभरका घरघरमा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन नवदुर्गामध्ये छैटौँ स्वरूप कात्यायनीको पूजा गर्ने वैदिक सनातन परम्परा छ। यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ।

पौराणिक मान्यताअनुसार देवकार्य सम्पन्न गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा प्रकट भएकी थिइन्। उनको बाल सौन्दर्यबाट प्रभावित ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी जमरा राखेसँगै नवदुर्गाको पूजा आराधना सुरु भएको हो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिएको थियो। आज छैटौँ दिन कात्यायनी देवीको आराधना गरिँदैछ। आगामी दिनमा कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिनेछ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार दुर्गा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजाआराधना गर्छन्।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, कलङ्कीमाई, बगलामुखीलगायत शक्तिपीठमा भक्तजनको भीड लागेको छ। उपत्यकाबाहिरका पलाञ्चोक भगवती, मनकामना, पाथीभरा, दन्तकाली, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत मन्दिरमा पनि भक्तजन पूजा तथा दर्शनका लागि पुग्ने गरेका छन्।

नवरात्रमा पूजा गरिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका र जमरा लगाउने चलन छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ। यसरी नेपाली समाजमा बडादसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको १५ दिने पर्वका रूपमा मनाउने गरिन्छ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्