Logo

भाेटेकाेशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल पुनः सञ्चालनमा, मर्मतमा साढे पाँच करोड खर्च

ललित सन्देश २०८३ आश्विन ३०, १:२२ AM
भाेटेकाेशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल पुनः सञ्चालनमा, मर्मतमा साढे पाँच करोड खर्च

काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएका त्रिशूली करिडोरका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। पुलहरू सञ्चालनमा आएसँगै नदीपारिका बस्तीबीचको आवतजावत सहज भएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीले ११ वटा पुलमा ठूलो क्षति पुर्‍याएको थियो भने सातवटामा सामान्य क्षति पुगेको थियो। सबै पुलको मर्मतमा करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए।

बाढीका कारण केही पुलका लट्ठा बटारिएका थिए भने डेक, बिम र छेउका सुरक्षा जालीसमेत बगाएका थिए। बढी क्षति भएका पुलमा बटारिएका लट्ठा सोझ्याउने, ह्यान्डरेलका केबल फेर्ने तथा नयाँ स्टिल डेक र बिम जडान गर्ने काम गरिएको कार्यालयले जनाएको छ। सामान्य क्षति पुगेका पुलमा आवश्यक मर्मत गरेर सञ्चालनयोग्य बनाइएको हो।

मर्मत गरिएका पुलले नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न स्थानीय तहबीचको आवागमनलाई जोड्छन्। नुवाकोट र धादिङ जोड्ने पिमलटार जागाराम, फोस्रेटार, जिलिङ, केउरेनी गहतेलगायतका पुलमा बृहत् मर्मत गरिएको छ। त्यसैगरी धादिङका सिद्धलेक, गल्छी र गजुरी क्षेत्रका पुल तथा गोरखा–धादिङ जोड्ने पुलहरूमा पनि मर्मत गरिएको छ।

बृहत् मर्मत गरिएका अन्य पुलमा महेशदोभान मास्टार, शीतलबजार क्युरेनीटार, कोल्पु कल्लेरीघाट र गोरखाको गण्डकी–७ तथा धादिङको बेनीघाट रोराङ–७ जोड्ने पुल रहेका छन्। गोरखा र धादिङ जोड्ने बादरे पुलसहित बिहानी पम्प, मलेखु, बेल्खु भुतिया, कुरिनटार (लेवाटार), महादेवस्थान र फिस्लिङ पुलमा सामान्य मर्मत गरिएको कार्यालयले जनाएको छ।

ग्रामीण क्षेत्रमा झोलुङ्गे पुल स्थानीय बासिन्दाको दैनिक आवागमन, कृषि उपज ओसारपसार, शिक्षा, स्वास्थ्य र बजारसम्मको पहुँचका लागि महत्त्वपूर्ण पूर्वाधार हुन्। बाढीबाट पुलमा क्षति पुग्दा नदीपारिका बस्तीको सम्पर्क प्रभावित हुने भएकाले मर्मतपछि तिनलाई पुनः सञ्चालनमा ल्याउनु स्थानीय जनजीवन सहज बनाउन महत्त्वपूर्ण भएको छ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्