१५ लाख हाराहारी नेपाली दसैँ मान्न भ्याली छोड्दै, बाहिरिने क्रम तीव्र
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर आफ्नो घरजिल्ला फर्किने यात्रुको चाप बढ्दै गएको छ। यातायात व्यवस्थापनमा संलग्न निकायहरूको अनुमानअनुसार यस वर्ष दसैँका अवसरमा करिब १५ लाख यात्रुले उपत्यका छाड्नेछन्। तीमध्ये झन्डै १० लाखले सार्वजनिक यातायात प्रयोग गर्ने अनुमान गरिएको छ। चाडपर्व नजिकिँदै जाँदा बसपार्क र उपत्यकाका प्रमुख नाकामा यात्रुको भीड बढेको छ भने सडकको अवस्था र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज २९ गतेसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत २ लाख ६२ हजार ७५३ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। बाहिरिने यात्रुमध्ये १ लाख ६१ हजार १६७ पुरुष र १ लाख १५ हजार ८६ महिला रहेको ट्राफिक प्रहरीको तथ्यांक छ। नागढुङ्गा, थानकोट, भक्तपुर, फर्पिङ, भीमढुङ्गा, तीनपिप्ले, साँखु र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम बढेको छ।
गोंगबुस्थित नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार बसपार्कबाट लामो तथा छोटो दूरीका सवारीसाधनमार्फत यात्रु बाहिरिने क्रम तीव्र छ। असोज ३ देखि १३ गतेसम्म मात्रै नयाँ बसपार्कबाट दुई लाख ३९ हजार ७७७ यात्रु बाहिरिएको उनले बताएका छन्। टिकटको अभावभन्दा पनि सडकमा हुने अवरोधका कारण यात्रुलाई समयमै गन्तव्यमा पुर्याउनु मुख्य चुनौती बनेको यातायात व्यवसायीको भनाइ छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुको चाप बढेसँगै प्रमुख नाकामा निगरानी र सवारी व्यवस्थापनलाई तीव्र बनाएको छ। विशेषगरी कलंकी–नागढुङ्गा खण्डमा सवारीसाधनको चाप बढी देखिएको छ। ट्राफिक प्रहरीले चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरे–नगरेको जाँच गर्नुका साथै सवारीसाधनको यान्त्रिक अवस्था परीक्षणका लागि पठाउने गरेको जनाएको छ। यात्रुको टिकट, भाडा र यात्रासम्बन्धी गुनासो सम्बोधन गर्न उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा छन्।
यस वर्षको दसैँ यात्रा सडकको अवस्थाका कारण पनि प्रभावित भएको छ। पृथ्वी राजमार्गको धादिङस्थित गलौंदी क्षेत्रमा सडक भासिएपछि केही समय यातायात अवरुद्ध भएको थियो। सडक काटेर चौडा बनाउने तथा ग्राभेल बिछ्याउने कामपछि उक्त खण्ड पुनः सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ। नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति राजमार्ग र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको भए पनि बढी चाप र सम्भावित अवरोधले यात्राको समय लम्बिन सक्ने अवस्था छ।
यातायात व्यवसायीले सडकको अवस्था र अवरोधबारे यात्रुलाई समयमै जानकारी दिन तथा सवारी सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। यात्रुलाई अग्रिम टिकट लिएर मात्रै यात्रा गर्न, तोकिएकोभन्दा बढी भाडा नतिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न पनि सुझाव दिइएको छ।
दसैँका बेला घर फर्किने यात्रुको चाप अझै बढ्ने भएकाले सडकको नियमित अनुगमन, सम्भावित पहिरो तथा अवरोध हटाउन उपकरण तयारी अवस्थामा राख्ने र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने काम महत्त्वपूर्ण देखिएको छ। करिब १५ लाख यात्रुको आवागमन सहज र सुरक्षित बनाउनु सरकारी निकाय, यातायात व्यवसायी र यात्रु सबैका लागि साझा चुनौती बनेको छ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्